हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त

Image

काठमाडौं । फिफा विश्वकप २०२२ च्याम्पियन अर्जेन्टिनाविरुद्ध स्तब्धपूर्ण नतिजा निकालेका हार्भे रेनार्ड पुनः साउदी अरेबियाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

५६ वर्षीय फ्रेन्च प्रशिक्षक यसअघि सन् २०१९ देखि २०२३ सम्म साउदीकै प्रशिक्षक थिए । उनको प्रशिक्षणमा साउदीले विश्वपकको पहिलो खेलमा अर्जेन्टिनालाई २–१ ले हराएको थियो । अब, उनी सन् २०२५ सम्म टिमसँग हुनेछन् ।

बिहिबार इटालियन प्रशिक्षक रोबर्टाे मान्सिनीले साउदी अरेबियाको मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि रेनार्डलाई झिकाइएको हो । ५९ वर्षीय प्रशिक्षक सन् २०२३ मा साउदी पुरुष फुटबलको मुख्य प्रशिक्षक भएका थिए । तर, उनी १४ महिनामै बाहिरिएका हुन् ।

साउदीले फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोट खेलिरहेको छ । टोली समूह ‘सी’ मा तेस्रो स्थानमा छ । पछिल्लो नतिजा आशा लाग्दो नभएपछि मान्सिनी पछि हटेका थिए ।

समूहमा जापान भन्दा साउदी पाँच अंकले पछि छ । साउदी, अस्ट्रेलिया र बहराइनको समान पाँच अंक छ । यसअघि घरमै जापानसँग २–० ले हार्दा अघिल्लो साता बहराइनसँग गोलरहित बराबरी खेलेको थियो ।

समूहबाट दुई टिम सिधै विश्वकप छनोटमा स्थान बनाउनेछन् । हरेक समूहका तेस्रो र चौथो टोलीले अर्काे चरण चरण पार गर्नुपर्ने हुन्छ ।