साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा

Image

काठमाडौं । भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै साबिक विजेता बंगलादेश दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगाशालमा सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनलमा बंगलादेशले स्ट्राइकर तोहुरा खातुनको ह्याट्रिकप्रेरित भुटानमाथि फराकिलो जित हासिल गरेको हो । बंगलादेश लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । २०२२ मा बंगलादेशले यही मैदानमा फाइनल खेलेको थियो ।

बुधबार हुने फाइनल खेल, समग्रमा बंगलादेशको तेस्रो फाइनल हुनेछ । बंगलादेशले २०१६ मा पहिलो पटक फाइनल खेलेको थियो । बंगलादेशले फाइनलमा भारत र नेपालबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो हाफमा ५-१ गोल अन्तरको अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा दुई गोल थपेको हो ।

बंगलादेशका लागि अन्य गोल कप्तान सवीता खातुन, रितु पोर्ना चक्मा र सेउली अजिमले गरे । सवीनाले दुई तथा रिनु र सेउलीले एक गोल गरे । भुटानका लागि एक मात्र गोल देकी ल्हाजोमले गरिन् । खेलको सातौं मिनेटमै बंगलादेशले विंगर रितुको गोलमा अग्रता लियो ।

फरवार्ड तोहुराको पासमा रितुले बक्स नजिकैबाट गरेको लेफ्ट फुटेड प्रहार गोलमा परिणत भएको थियो । त्यसको पाँच मिनेटपछि बंगलादेशले अर्को गोल थप्यो । यसपालि रक्षक सेउली अजिमको पासलाई तोहुराले सदुपयोग गरिन् । उनको लेफ्ट फुटेड फितलो प्रहारले पनि पहिलो बारको जाली चुमेको थियो ।

खेलको २४औं मिनेटमा भुटानले सुनौलो अवसरमा गोल गर्न सकेन । मिडफिल्डर देकी याङ्दोनको थ्रु पासमा फरवार्ड नामगेल देमा गतिलो प्रहारबाट चुकिन् । उनको फितलो प्रहार बंगलादेशकी गोलकिपर रुप्ना चक्माले सहजै नियन्त्रणमा लिइन् । एक मिनेटपछि क्विक काउन्टर आक्रमणमा सवीनाको प्रहार दोस्रो बारको लोअर कर्नरमा ठोक्किँदा बंगलादेशले अग्रता बढाउन सकेन । लगत्तै एक मिनेट पनि बित्न नपाउँदै सवीनाले नै बंगलादेशको अग्रतालाई तीन गोलमा पुर्याइन् ।

उनले राइट साइडबाट मोनिका चक्माले प्रदान गरेको क्रसलाई सदुपयोग गरिन् र वान टचमा गोल गरिन् । खेलको ३५औं मिनेट तोहुराले विपक्षी रक्षक सुकमाया घलेलाई छक्याउँदै चलाखीपूर्ण ढंगबाट फेरि एक गोल थपिन् । त्यसको दुई मिनेटपछि नै सवीनाको दोस्रो गोलमा बंगलादेशले पाँच गोलको अग्रता लियो । सवीनाले यसपालि वान भर्सेस वानमा भुटानी गोलकिपर संगीता मोंगेरलाई बिट गरिन् ।

खेलको ४१औं मिनेटमा देकी (ल्हाजोम) ले भुटानका लागि एक गोल फर्काइन् । प्रतियोगितामा देकीको यो आठौं गोल हो । यस गोलसँगै देकी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएकी छन् । नेपालकी फरवार्ड रेखा पौडेल देकीलाई पछ्याइरहेकी छन् । रेखाले सात गोल गरिसकेकी छन् ।

दोस्रो हाफको ५८औं मिनेटमा तोहुराले आफ्नो ह्याट्रिक पूरा गरिन् । उनले सवीनाको पासलाई सदुपयोग गरिन् । खेलको ७२औं मिनेटमा सेउली (अजिम)ले कर्नर बललाई सदुपयोग गरिन् र बंगलादेशले सात गोलको अग्रता लियो । आइतबार दोस्रो सेमिफाइनलमा भारतले आयोजक नेपालको सामना गर्नेछ । खेल साँझ ६ः३० बजे सुरु हुनेछ ।