नेपालसंग फाइनल खेल खेल्नुअघि बंगलादेशी टोलीमा विवाद

Image

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को फाइनलअघि बंगलादेशी टोलीमा विवाद उत्पन्न भएको छ । उपाधि रक्षाको अभियानमा रहेको बंगलादेशले समूह चरणको पहिलो खेलमा पाकिस्तानविरुद्ध १-१ को बराबरी खेलेको थियो ।

पाकिस्तानसँगको बराबरीपछि सामाजिक सञ्जालमा मुख्य प्रशिक्षक पिटर बटलरको आलोचना सुरु भएको थियो । दोस्रो खेलमा बलियो भारतलाई ३-१ ले पराजित गरेपछि प्रशिक्षक बटलरको आलोचना रोकिने अनुमान गरिएको थियो । तर, आइतबार सेमिफाइनलमा भुटानमाथि ७-१ को फराकिलो जित हासिल गरिसकेपछि पनि बटलरप्रतिको आलोचना रोकिएको छैन ।

भुटानविरुद्धको खेलअघि कप्तान सवीना खातुनले फेसबुकमा प्रशिक्षकप्रति असन्तुष्टि जनाएकी थिइन् । पछि सवीनाले आफूले दिएको प्रतिक्रियाप्रति माफि माग्दै उक्त स्ट्याटस फेसबुकबाट हटाएकी थिइन् । टोलीका पूर्व प्रशिक्षक गोल्मा रब्बानी छोटोनले सवीनाको स्ट्याटसप्रति प्रतिक्रिया दिएपछि विवाद झन् उत्कर्षमा पुगेको थियो ।

पहिलो दुई खेलमा प्रभावहीन देखिएकी सवीनालाई प्रशिक्षक बटलरले भारतविरुद्ध दोस्रो हाफमा प्रतिस्थापन गरेका थिए । जसका कारण विवाद उत्पन्न भएको हो । सवीनाले पछि मिडियासँग पूर्व प्रशिक्षक रब्बानीसँग आशिर्वाद समेत लिएको प्रतिक्रिया दिएकी थिइन् । जुन कुरालाई बटलरले राम्रो रुपमा लिएनन् ।

शनिबार सेमिफाइनलको अघिल्लो दिन ३० वर्षीय फरवार्ड सवीनाले टोलीसँग अभ्यास गरिनन् । सवीनाले यसका लागि अस्वस्थताको कारण देखाएकी थिइन् । कप्तान अभ्यासमा नआएपछि बटलरले आफूसँग प्लान ‘बी’ रहेको प्रतिक्रिया दिएका थिए ।

‘सवीना अस्वस्थ छिन् । मैले सवीनासँग कुरा गरेको छैन । मैले हिजो उसलाई जन्मदिनको शुभकामना दिएको थिएँ । त्यसपछि उसलाई भेटेको छैन, ’ भद्रकालीस्थित आर्मी मुख्यालय मैदानमा प्रशिक्षण सकिएपछि बटलरले भने, ‘मैले सवीनाको स्थितिलाई भोलि बुझ्नेछु । सवीना सक्दिनन् भने मसँग अग्रपङ्क्तिमा मुन्की अख्तर, मोनिका चक्मा, सागोरिका मोसाम्मतको विकल्प छ ।’

यी सबै विवादबीच सवीनाले भुटानविरुद्ध सुरुआती रोजाईमै खेलिन् । पहिलो हाफमा दुई गोल गरेकी सवीनालाई ६३औं मिनेटमा प्रतिस्थापन गरिएको थियो । उनको ठाउँमा मिडफिल्डर संजीदा अक्खतर मैदान प्रवेश गरेकी थिइन् । खेलमा फरवार्ड तोहुरा खातुनले ह्याट्रिक गर्दा सेउली अजिम र रितु पोर्ना चक्माले समान एक गोल गरे ।

‘आज खेलाडीले निकै राम्रो खेल प्रस्तुत गरे । हामीले ६/७ महिना टोलीको प्रगतिका लागि चाहिने प्रतिस्पर्धात्मक वातावरण सृजना गर्न हामीले धेरै मिहिनेत गरेका छौं, ’ टोलीलाई अस्थिर बनाउन खोज्नेप्रति लक्षित गरेर पोस्ट म्याचमा बटलरले प्रतिक्रिया दिएका थिए ।

बंगलादेशले बुधबार लगातार दोस्रो संस्करण, फाइनलमा आयोजक नेपालसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ः३० बजे सुरु हुनेछ । गत संस्करण बंगलादेशले यही मैदानमा नेपाललाई ३-१ ले निराश पार्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको थियो ।