महेन्द्रसिंह धोनीसहित यी ५ खेलाडी रिटेन गर्दै चेन्नई

Image

एजेन्सी । चेन्नई सुपर किंग्सले पूर्व कप्तान महेन्द्रसिंह धोनी सहित कप्तान ऋतुराज गायकवाड, रविन्द्र जडेजा, शिवम दुबे र श्रीलंकाका तीव्र गतिका बलर माथिशा पाथिरानालाई रिटेन गरेको छ ।

इन्डियन प्रिमियर लिग(आइपिएल) का लागि चेन्नईले रिटेन गर्ने खेलाडीको नाम बाहिर आएको हो । रिटेन खेलाडीको अन्तिम जानकारी आज बेलुकासम्म आउने बताइएको छ।

चेन्नईले प्रत्येक रिटेन खेलाडीलाई कति रकममा रिटेन गरेको एकिन भएको छैन । चेन्नईले आफ्नो कुल १ सय २० करोड भारुबाट कम्तिमा रिटेनमा ६५ करोड गुमाउनेछ । ५ रिटेन्सनले चेन्नईले अक्सनमा एक राइट-टु-म्याचको विकल्प रहने छ ।

आइपिएलले ५ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका खेलाडीलाई अनक्याप्ड श्रेणीमा रिटेन गर्न पाउने नियम ल्याएपछि ४३ वर्षीय धोनीलाई रिटेन गरिएको हो । उनले सन् २०१९ को ओडिआई विश्वकपपछि भारतका लागि खेलेका छैनन् ।

बिहीवार १० फ्रेन्चाइजीले आइपिएलमा रिटेन खेलाडीको सूची बुझाउनु पर्नेछ । २०२५ को सिजनअघि हुने मेगा अक्सनमा टिमले ६ जनासम्म खेलाडी रिटेन गर्न पाउने छन् । जसमध्ये बढीमा ५ जना अन्तर्राष्ट्रिय र एक जना अनक्याप्ड खेलाडी हुन सक्नेछन् ।

आइपिएलले रिटेन हुने पहिलो खेलाडीलाई १८ करोड , दोस्रोलाई १४ करोड , तेस्रोलाई ११ करोड, चौथोलाई १८ करोड भारु, पाँचौंका लागि १४ करोड र अनक्याप्ड खेलाडीलाई ४ करोड भारु खर्च गर्न पाउने व्यवस्था गरेको छ।