राशिद खानको अर्धशतकका बाजजुद श्रीलंकासँग नेपाल पराजित

Image

काठमाडौं । राशिद खानको अर्धशतकका बाजजुद श्रीलंकसँग पराजित हुँदै नेपाल हङकङ सिक्स क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएको छ। शनिबार भएको क्वार्टरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो।

श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्रै बनाउन सक्यो। नेपालका लागी राशिद खानले १८ बलमा आठ छक्का र एक चौकाको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । नारायण जोशीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका दुवै ओपनर सन्दीप जोरा र लोकेश बमले राम्रो सुरुआत गर्न सकेनन्।  श्रीलंकाका लागि थरिन्दु रत्नानायके र लाहिरु समराखोनले समान दुई तथा धनन्जय लक्शन र कप्तान लिहुरु मदुसन्काले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै १२३ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि सदुन विराकोडीले १४ बलमा पाँच छक्का र चार चौकाको मद्दतले ५० रन बनाए । उनी रिटायर्ड हर्ट भए । यसैगरी कप्तान लिहुरु मधुशंकाले अविजित ३१, लाहिरु समराखोनले ५ बलमा १ चौका र ३ छक्काको सहयोगमा अविजित २२ र थनुका डबारेले ९ बलमा ३ चौकाको सहयोगमा १८ रन बनाए । नेपालका लागि नारायण जोशी र प्रतिश जिसीले समान एक विकेट लिए । ।

विजेता श्रीलंकाले फाइनल प्रवेशका लागि बंगलादेश र युएईबीचको विजेतासँग खेल्नेछ । यस खेलमा पराजित नेपालले प्लेट सेमिफाइनलमा बंगलादेश र युएईसँग पराजित हुने टोलीसँग खेल्नेछ ।