काठमाडौं । आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । युएईको द सेभेन रंगशालामा बिहीबार नेपालले कुवेतविरुद्ध १०८ रनको फराकिलो जित निकाल्यो ।
लगातार दोस्रो जितसँगै नेपालले दुई खेलमा ४ अंक जोडेको छ । दुवै खेलमा पराजित कुवेत अंकविहिन छ । पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गर्दा कुवेतले घरेलु टोली युएईसँग १०६ रनको हार ब्यहोरेको थियो ।
नेपालले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमै समेटियो । कुवेतका लागि जिफा जिलानीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुवेतका ६ खेलाडी खातासमेत नखोली आउट भए ।
कुवेतलाई अलआउट गर्न नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले २-२ विकेट लिए । सीमाले दुई ओभर बलिङ गर्दा २ ओभर नै मेडन राखिन् ।
रचनाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चेर २ विकेट लिइन् । यस्तै कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले १-१ विकेट लिए । मनिषाले पनि २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३० रनको योगफल तयार पारेको थियो । नेपालका लागि पुजा महतोले कप्तानी इनिङ्स इनिङ्स खेल्दै ३४ रन बनाइन् ।
लगातार दोस्रो खेलमा नेपालका लागि उच्च रन बनाउने क्रममा महतोले ३८ बल खेल्दा ४ चौका मद्दतमा ३४ रन बनाइन् । यस्तै साना प्रविनले १८ बलमा ५ चौका प्रहार गर्दै २५ रन जोडिन् । ज्योत्सनिका मरासिनीले पनि १८ बल खेल्दै २३ रन योगदान गरिन् । एलिसाकुमारी यादवले १५ रन जोडिन्
चौथो विकेटका लागि पूजा र ज्योत्स्निकाले ४७ रनको साझेदारी गरे । कुवेतकी आयशा इकवाल पेवेकरले २ तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान १ विकेट लिए ।
नेपालले आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली युएइसँग खेल्नेछ ।

















