तेस्रो खेलमा यूएईसँग नेपाल पराजित

Image

काठमाडौँ । आइसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ । शनिवार सम्पन्न खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग १३ रनले पराजित भएको हो ।

युएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । उनले ४३ बलमा ५ चौका हिर्काइन् । साना प्रविन र सोनी पाख्रिनले समान १९ तथा ज्योत्सिका मरासिनीले नट आउट ११ रन जोडिन् ।

युएईका लागि मेहक ठाकुर, लाभन्या केन्य र इदुजा नन्दकुमारीले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो । यूएईका लागि रिनिथा रजितले सर्वाधिक ४८ रनको इनिङ्स खेलिन् । उनले मात्र ३३ बलमा ५ चौका र २ छक्का प्रहार गरिन् । त्यस्तै, ओपनर लभान्या केनीले ३२ बलमा २० रन जोडिन् ।

इदुजा नन्दकुमारीले १४ बलमा १२ रन जोड्दा अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि रिया शर्माले ४ ओभर बलिङ गर्दै मात्र १२ रन खर्चेर ३ विकेट लिइन् । कप्तान पूजा महतो, करिस्मा गुरुङ र सीमा केसीले १–१ विकेट हात पारे ।

गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

जितसँगै ३ खेलमा अपराजित युएई ३ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित नेपाल समान खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालले चौथो खेलमा आइतवार थाइल्यान्डसँग खेल्नेछ ।

पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्ने नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ। छनोटको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । विश्व कप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।