नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाई, आज ताजकिस्तान प्रस्थान गर्दै

Image

काठमाडौं । दुई मैत्रीपूर्ण खेलका लागि ताजकिस्तान जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाई गरेको हो ।

बिदाईका क्रममा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ र मुख्य प्रशिक्षक नवीन न्यौपानेलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए ।

नेपाली टोली दुई मैत्रीपूर्ण खेलका लागि आज आइतबार ताजकिस्तान प्रस्थान गर्दैछ । एन्फाका अनुसार नेपाली टोली काठमाडौंबाट चन्द्रगढी, झापा, भारतको बागडोग्रा र नयाँ दिल्ली हुँदै सोमबार ताजकिस्तानको खेल हुने स्थान डुसान्बे पुग्नेछ ।

जहाँ नेपालले फिफा विन्डो अन्तर्गत घरेलु टोली ताजकिस्तान र अफगानिस्तनसँग एक एक मैत्रीपूर्ण खेल खेल्ने छ । नेपालले पहिलो खेल ताजकिस्तानविरुद्ध कार्तिक २८ गते बुधबार खेल्नेछ । यस्तै नेपालले दोश्रो खेल अफगानिस्तानविरुद्ध मंसिर १ गते शनिबार खेल्नेछ।

नेपाली टोली:

गोलकिपर: किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल सुनार
डिफेन्डर: अभिषेक लिम्बू, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दीप पौडेल, एञ्जल महर्जन
मिडफिल्डर: रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनीष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ
फरवार्ड: जिलेस्पीजंग कार्की, अञ्जन विष्ट, नीराजन धामी