एनपीएल आयोजना गर्न बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश

Image

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) लाई नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाका‌ लागि बाटो खुल्ला भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले पहिलो सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफ र क्यानसहितका विपक्षीहरुलाई छलफलमा बोलाएको छ ।

सर्वोच्चले रोक्न आदेश जारी नगरेपछि एनपीएल आयोजनामा कुनै वाधा नहुने देखिएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार अदालतको आजको सुनुवाइपछि एनपीएलको तयारी तीव्र रुपमा अघि बढ्ने बताए । सर्वोच्च अदालतले रोक्न अन्तरिम आदेश जारी नगरेकाले एनपीएलनको तयारीमा कुनै असर नपर्ने र क्यानले यसलाई तीव्र रुपमा अघि बढाउने उनले बताए ।

अख्तरले उक्त फ्रेन्चाइज आफ्नो नाममा १० वर्षका लागि नेपाल क्रिकेट संघसँग सहमति गरेर दिएकाले अहिले अरु नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने भन्दै अन्तरिम आदेशको जिकिर सर्वोच्चमा लिएका थिए । तर सर्वोच्चले सबै तयारी भइसकेको र अहिले रोक्न नपर्ने ठहर गर्दै यस्तो आदेश गरेको हो ।

प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ । क्यानले प्रतियोगिताका लागि खेलाडीहरुको अक्सनसमेत गराइसकेको छ । प्रतियोगितामा सहभागी आठवटै क्लब आ–आफ्नो तयारीमा व्यस्त छन् । क्लबहरुले प्रतियोगिताको तयारीका लागि ठुलो राशी खर्च पनि गरिसकेको अवस्थामा अदालतले त्यसलाई मध्यनजर गर्दै कारण देखाऊ आदेशमात्र जारी गरेको छ ।