एजेन्सी । लकी फर्गुसनको ह्याट्रिकमा पाहुना टोली न्युजिल्याण्डले दोस्रो तथा अन्तिम टि ट्वान्टी आईमा श्रीलंकालाई पराजित गरेको छ । न्युजिल्याण्डले आइतवार श्रीलंकामाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो । योसँगै दुई खेलको टि ट्वान्टी आई सिरिज १-१ को बराबरीमा सकिएको छ ।
१ सय ९ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा १ सय ३ रनमा समेटियो । श्रीलंकाका लागि ओपनर पथुम निशंकाले ५१ बलमा ६ चौकाको सहयोगमा ५२, भानुका राजापक्षेले १५ तथा महेश तिक्सेनाले १४ रन जोडे ।
न्युजिल्याण्डका फगुर्सनले ह्याट्रिक पूरा गरे । फगुर्सनले छैठौं ओभरको अन्तिम बलमा कुशल परेरा, सातौं ओभरको पहिलो बलमा कमिन्डु मेन्डिस र दोस्रो बलमा कप्तान चरिथ असलंकालाई आउट गरे । फर्गुसन न्युजिल्याण्डबाट ह्याट्रिक पूरा गर्ने छैठौं खेलाडी हुन् ।
ग्लेन फिलिप्सले अन्तिम ओभरमा श्रीलंकालाई ८ रन बनाउनबाट रोके । उनले रन रोक्नुका साथै अन्तिम ओभरमा ३ विकेट समेत लिए । माइकल ब्रेसवेलले २ तथा मिचेल स्यान्टनरले १ विकेट लिएका थिए ।
त्यसअघि दाम्बुलामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले १९.३ ओभरमा अल आउट हुदै १ सय ८ रनको सामान्य योगफल तयार गरेको थियो ।
न्युजिल्याण्डका विल योंगले ३२ बलमा सर्वाधिक ३०, जोस काल्र्कसनले २५ बलमा २४ तथा कप्तान मिचेल स्यान्टनले २४ बलमा १९ रन जोडेका थिए ।
श्रीलंकाका लागि वानिन्दु हसरंगाले ४, मथिशा पथिरानाले ३, नुवान तुषाराले २ तथा महेश तिक्सेनाले १ विकेट लिएका थिए । दुई देशबीच बुधवारबाट ३ खेलको ओडिआई सिरिज रहेको छ ।

















