एजेन्सी । अफगानिस्तानका चर्चित क्रिकेट खेलाडी मोहम्मद नाबीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । ३९ वर्षीय मोहम्मद नाबीले सन् २०२५ मा पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफीलगत्तै एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने घोषणा मंगलबार गरेका हुन् ।
अफगानिस्तानको क्रिकेटलाई विश्वस्तरमा पुर्याउन मोहम्मद नाबीको महत्त्वपूर्ण योगदान गरेको छ । अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलापछि मोहम्मद नाबीले यस्तो घोषणा गरेका हुन् ।
बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय शृङ्खलामा अफगानिस्तान २–१ ले विजयी भएको थियो । शृङ्खलाको अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई पाँच विकेटले हराएको थियो ।
बंगलादेशविरुद्धको एकदिवसीय शृङ्खलामा मोहम्मद नाबीले कुल एक सय ३५ रन बनाएका थिए । एक खेलमा उनले ८४ रन बनाएका थिए । यसका अतिरिक्त उनले दुई विकेट पनि लिएका थिए ।
‘मैले विश्वकप सकिएलगत्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने योजना बनाएको थिएँ तर, टोली च्याम्पियन्स ट्रफीमा छनोट भएकाले मेरा सन्न्यासको अवधि पनि लम्बिएको हो,’ उनले भने ।
मोहम्मद नाबी सन् २००९ देखि अफगानिस्तानको राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । यो अवधिमा उनले देशका लागि एक सय ६७ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रियमा उनले कुल तीन हजार ६ सय रन बनाएका छन् । उनले दुई शतक र १७ वटा अर्धशतक पनि प्रहार गरेका छन् । उनले एकदिवसीयमा एक सय ७२ विकेट पनि लिएका छन् ।
मोहम्मद नाबी हाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकै नम्बर एक अलराउन्डर खेलाडी पनि हुन् । उनले बंगलादेशका लागि थुप्रै टेस्ट र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलिसकेका छन् ।