काठमाडौं । तिलक बर्माको उत्कृष्ट शतकको सहयोगमा भारतले घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको तेस्रो खेलमा ११ रनको जित दर्ता गरेको छ । जितसँगै चार खेलको शृंखलामा भारतले २-१ को अग्रता लिएको छ । यसअघि भारत ६१ रन र दक्षिण अफ्रिका तीन विकेटले विजयी भएका थिए ।
सेन्चुरियनस्थित सुपर स्पोर्टस पार्कमा बुधबार भारतले प्रस्तुत गरेको २ सय २० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै २०८ रन मात्रै बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि मार्को यानसनले १७ बलमा ५ छक्का र ४ चौकाको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । यसैगरी हेनरिक क्लासेनले २२ बलमा १ चौका र ४ छक्काको सहयाेगमा ४१, कप्तान एडियन मार्करमले १८ बलमा २९, रिजा हेन्ड्रिक्सले १३ बलमा २१, रायन रिकेल्टनले १५ बलमा २० र डेविड मिलरले १८ रन बनाए ।
छैटौं विकेटका लागि क्लासेन र मिलरबीच ५८ रनको साझेदारी गरेका थिए । भारतका लागि अर्शदिप सिंहले ३, वरुण चक्रवर्तीले २ तथा हार्दिक पाण्ड्या र अक्षर पटेलले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १९ रनको योगफल तयार पारेको थियो ।
भारतका लागि तिलक वर्माले ५६ बलमा ८ चौका र ७ छक्काको मद्दतले अविजित १०७ रनको योगदान गरे । ट्वान्टी-अन्तर्राष्ट्रियमा तिलकको यो पहिला शतक हो ।
यसैगरी अभिषेक शर्माले २५ बलमा ३ चौका र ५ छक्काको मद्दतले ५०, हार्दिक पाण्ड्याले १६ बलमा १८, रमनदिप सिंहले ७ बलमा १५ र रिंकु सिंहले ८ रन जोडे । तिलरकले दोस्रो विकेटका लागि अभिषेकसँग १०७ र पाँचौं विकेटका लागि रिंकु सिंहसँग ५८ रनको साझेदारी गरे ।
दक्षिण अफ्रिकाका लागि एडिन सिम्लाने र केशव महाराजले समान २ तथा मार्को यानसनले १ विकेट लिए । शृंखलाको चौथो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।

















