काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरिएको छ । सोमबार राजधानीको सुन्धारास्थित धरहराको काँखमा आयोजित विशेष समारोहका बीच उक्त ट्रफी सार्वजनिक गरिएको हो ।
सुन्धारा स्थित धरहरा परिसरमा सोमवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका मार्की खेलाडीका साथ ट्रफी अनावरण गरेका हुन्। ट्रफीमा कालापथ्थरबाट ल्याइएको ढुंगा प्रयोग गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए।
ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले आजको दिन नेपाल खेलकुदका लागि महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे । ऐतिहासिक धरोहरका रूपमा रहेको धरहराको काखमा एनपीएलको ट्रफी अनावरण गरिनु अर्थपूर्ण रहेको पनि प्रधानमन्त्री ओलीले बताए ।
“खेल सरकारको क्रियाकलापभन्दा बाहिर छैन । खेलमा म सरकारका हुँदा वा नहुँदा जहिल्यै पनि रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुभकामना दिन चाहान्छु’’, उहाँले भन्नुभयो । उहाँले क्यानलाई महिलाका लागि पनि एनपीएल आयोजना गर्न सुझाव दिनुभयो ।
प्रतियोगिताको पहिलो संस्करण मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्स गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा विराटनगर किंग्स र जनपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन् । 



















