लेवान्डोस्की चम्किदा च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित

Image

काठमाडौं । रोबर्ट लेवान्डोस्कीको दुई गोल सहायतामा बार्सिलोनाले च्याम्पियन्स लिगमा सहज जित निकालेको छ । लिग चरणको खेलमा बार्सिलोनाले घरेलु मैदानको फाइदा उठाउँदै फ्रान्सको ब्रेष्टविरुद्ध ३-० को सहज जित निकालेको हो ।

लेवान्डोस्कीले खेल सुरु भएको १० मिनेट मै पेनाल्टी गोल गर्दै उत्साह थपेका थिए । दोस्रो आधी (हाफ)पछि डेनी ओल्मोले गोल गर्दै थप अग्रता दिलाएका अतिरिक्त समयमा फेरि लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै ३-० को जित सुनिश्चित गरे ।

योसँगै बार्सिलोना लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल गुमाएको बार्सिलोनाको १२ अंक हुँदा अपराजित शीर्ष स्थानको इन्टरको १३ अंक छ ।

यस्तै, लेवान्डोस्की च्याम्पियन्स लिगमा १०० गोल गर्ने तेस्रो खेलाडी समेत बनेका छन् । इन्जुरी समयमा अन्तिम गोल गरेपछि लेवान्डोस्कीले च्याम्पियन्स लिगमा व्यक्तिगत गोल सङ्ख्या १०१ पुगेको हो।

च्याम्पियन्स लिगमा धेरै गोल गर्नेमा क्रिस्टीयानो रोनाल्डो र लियोनेल मेसीपछि उनले धेरै गोल गरेका हुन्। रोनाल्डोले १४१ तथा मेसीले १२९ गोल गरेका छन्।