काठमाडौं । बुकायो साकाको शानदार प्रदर्शनमा आर्सनलले च्याम्पियन्स लिगमा पोर्चुगलको क्लब स्पोर्टिङलाई ५–१ ले हराउँदै २१ वर्षयताकै सबैभन्दा ठूलो जित दर्ता गरेको छ। जितसँगै पाँच खेलमा १० अंक जोडेको आर्सनल सातौं स्थानमा छ । पराजित स्पोर्टिङ समान खेलबाट समान अंकका साथ आठौं स्थानमा छ ।
मंगलबार राति भएको खेलमा आर्सनलका लागि काई हाभर्ट्ज, ब्राजिलियन डिफेन्डर गेब्रियल मार्टिनेली, गेब्रियल मागाल्हायेस र लियान्ड्रो ट्रोसार्डले थप प्रभावशाली प्रदर्शन गरे। खेलको सातौं मिनेटमा मार्टिनेलीको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो ।
२२औं मिनेटमा हाभर्ट्जले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा मगाल्हेसले गोल गर्दा आर्सनल ३-० ले अघि बढ्यो । ४७औं मिनेटमा इनासियोले स्पोर्टिङका लागि गोल फर्काए ।
साकाले ६५औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै आर्सनललाई ४-१ को अग्रतामा पुर्याए । निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा ट्रोसार्डले गोल गर्दै आर्सनललाई ५-१ को सानदार जित दिलाए ।
आर्सनलले पछिल्लोपल्ट सन् २००३ मा च्याम्पियन्स लिगअन्तर्गत इन्टर मिलानविरुद्ध भएको खेलमा समान स्कोरलाइ निकालेको थियो। त्यसपछि आर्सनलको यो सबैभन्दा ठूलो ‘अवे’ जित हो।

















