Khabar Board

राष्ट्रिय टोलीका पुर्व प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा उपाधि जित्न चाहन्छ जनकपुर

काठमाडौँ । जनकपुर बोल्ट्सले घरेलु मैदानमा शनिबार विराटनगर किङग्सविरुद्ध खेल्दै नेपाल प्रिमियर लिग (एनपीएल)को सुरुवात गर्दै छ। एनपीएलमा सन्तुलित देखिएको जनकपुर उपाधि जित्ने लक्ष्यमा मैदान उत्रिने तयारीमा छ।

जनकपुरले उद्घाटन खेलमा शनिबार विराटनगरसँग खेल्दै लिगको सुरुवात गर्नेछ। सो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

एनपीएलको सुरुवातमा नै उपाधिमाथि दाबी गरेको जनकपुरले राष्ट्रिय टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेखलाई मार्की खेलाडी बनाएको छ। आसिफले सन् २०२१ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।

लिगअघि आसिफले विदेशी खेलाडी र नेपालका युवा खेलाडीको कारण टोली सन्तुलित रहेको बताएका छन्। टोलीमा पछिल्लो समयका उत्कृष्ट खेलाडी रहेकाले उपाधि जित्ने शेखले दाबी गरे।

जनकपुरले विदेशी खेलाडीका रुपमा बिहीबार मात्रै क्यानडाका हर्ष ठाकरलाई टोलीमा भित्र्याएको छ। जनकपुरले यसअघि न्युजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, अमेरिकाका मोहम्मद मोहसिन, लाहिरु मिलन्था र इङल्याण्डका अलराउन्डर बेन माइकलाई अनुबन्ध गरेको छ।

न्युजिल्यान्डका निशम विश्व क्रिकेटमा परिचित अनुहार हुन्। उनले न्युजिल्याण्डका लागि टेस्टदेखि टी–ट्वान्टी खेलको रामूो अनुभव बटुलेका छन्। बायाँहाते ब्याटर निशमसँग आइपीएल, बीबीएल र द हन्ड्रेडलगायत फ्रेन्चाइज लिगहरू खेलको अनुभव छ। जुन अनुभव आउने एनपीएलमा देख्न पाइनेछ। यस्तै दायाँहाते ब्याटर ट्रोम्पले अमेरिकी हौस्टन प्रिमियर लिग टी ट्वान्टी, सेन्ट्रल टेक्सास लिग टी–ट्वान्टीलगायतका लिग खेलिसकेका छन्।

श्रीलङ्कामा जन्मिएर अमेरिकाबाट क्रिकेट खेल्दै आएका मिलान्था विकेटकिपर तथा ब्याटर हुन्। अमेरिकी घरेलु लिगको राम्रो अनुभव बटुलेका उनीसँग नेपाली मैदानको अनुभव समेत छ।

जनकपुरले यसअघि टोलीमा अनुबन्ध गरेका पाकिस्तानी खेलाडी शोएब मक्सदु भने फिटनेसमा समस्या आएपछि एनपीएलबाट बाहिरिएका छन्। उनी बाहिरिएसँगै जनकपुरले इङल्यान्डका अलराउन्डर बेन माइकलाई अनुबन्ध गरेको थियो।

जनकपुरमा विदेशी खेलाडीसँगै नेपालका आसिफ शेख, अनिलकुमार शाह, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कसांकार, तुल बहादुर थापा, किशोर महतो, शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाठी टोलीमा छन्।

जनकपुरका हेड अफ अपरेशन निरोज खतिवडाले आफनो टोलीको तयारी राम्रो रहेकाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्नेमा विश्वस्त रहेको बताए। सन्तुलित टोलीकै कारण लिगमा अनुकूल नतिजा आउने विश्वासमा खतिवडा छन्।

जनकपुरलाई नेपाली राष्ट्रिय टोली कै पुर्व प्रशिक्षक पुबुदु दासानायकेले प्रशिक्षण दिइरहेका छन्। नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन मद्दत गरेका दासानायकेले जनकपुरलाई पनि उपाधि दिलाउने लक्ष्य दिएएका छन्।

दासानायकेकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा विश्वकपको यात्रा तय गरेको थियो। सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालेका दासानायकेले क्यानडाको क्रिकेटलाई पनि नयाँ उचाइमा पुर्याउन भूमिका खेलेका छन्।  अनुभवी र खेलाडीको क्षमता अनुसार परिचालित गर्नसक्ने दासानायकेको प्रशिक्षणमा जनकपुरले उपाधि जित्ने लक्ष्य राखेको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.