काठमाडौं । ओपनर मयन यादवको अर्धशतकका बाबजुत नेपाल युएईमा आजबाट सुरु यु १९ एसिया कपमा श्रीलंका पराजित भएको छ ।शुक्रवार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले ५५ रनको हार बेहोर्न पुग्यो ।
श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १ सय ७८ रन बनाउँदै अल आउट भयो । नेपालका लागि ओपनर मयनले ९१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६२ रन बनाए । मयनले ८३ बलमा अर्धशतक पूरा गरेका थिए । अर्का ओपनर आकाश त्रिपाठीले ३३ बलमा १९, उत्तम थापाले १७, अर्जुन कुमाल र नरेन भट्टले समान १२ तथा नरेन साउदले १६ रन जोडे ।
त्यसअघि युएईको सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरको अन्तिम बलमा अल आउट हुदै २ सय ३३ रनमा समेटिएको थियो ।
श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाए । त्यस्तै लकविन अभेसिङ्गेले ५० रन बनाए । कविजा गमागेले ३७ रन बनाए ।
नेपालका सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए । त्यस्तै युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले १-१ विकेट लिए ।
एसिया कपमा नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्नेछ । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ। खेल ५० ओभरको हुनेछ ।
एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका ८ देशले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत बर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह बीमा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । फाइनल मंसिर २३ गते हुनेछ ।