काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन् । कर्णाली याक्समा आबद्ध भएका धवन शुक्रबार साँझ नेपाल आइपुगेका हुन् ।
उनलाई स्वागत गर्न कर्णालीका अफिसियलहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । धवनले एनपीएल र नेपालका खेलाडीसँग खेल्न उत्साहित रहेको बताएका छन् ।
एनपीएल खेल्न शुक्रबार नेपाल आइपुगेका शिखर धवनले अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा आफू नेपाली क्रिकेटरहरूसँग खेल्न उत्साहित रहेको बताएका हुन् । नेपालसँग आफ्नो देशको पुरानो सम्बन्ध रहेको र नेपालमा आफू कहिल्यै नआएकाले एनपीएल खेल्न आफू तयार भएको उनको भनाइ छ ।
उनले एनपीएलमा राम्रो अन्तर्राष्ट्रिय क्रिकेटर खेल्दा र उनीहरूसँग ड्रेसिङ रुम सेयर गर्दा नेपाली खेलाडीहरूको आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे । उनले नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा राम्रो गरिरहेको उल्लेख गर्दै सबै टिकट बिक्री हुनुले पनि यहाँको क्रिकेट अवस्थाबारे दर्शाउने बताए । अन्तर्राष्ट्रिय क्रिकेटरहरू नेपाल आउँदा यहाँको पर्यटनमा समेत टेवा पुग्ने उनको भनाइ छ ।
शिखरले कर्णालीबाट कम्तीमा ४ खेल खेल्नेछन् । उनले एक खेलको ३० हजार डलर पाउनेछन् । शिखर एनपीएलमा अनुबन्ध हुने सबैभन्दा ठुलो नाम हो ।