काठमाडौं । स्पेनिस ला लिगको शनिबार राति भएको खेलमा तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोना पराजित भएको छ। अंक तालिकाको पुछारबाट उठ्न सङ्घर्ष गरिरहेको लास पल्माससँग बार्सिलो २-१ ले पराजित भएको हो।
बार्सिलोनाले गत शुक्रबार क्लबको एक सय २५औं एनिभर्सरी मनाएको थियो । सोही अवसरमा पाल्मास विरुद्ध घरेलु मैदानमा खेल सुरू हुनुअघि नयाँ मस्कट पनि सार्वजनिक गर्यो । तर पिचमा खुशीयालीको वातावरण लामो समय सम्म रहेन । २६औं मिनेटमै अलेहान्द्रो ब्लेड चोटग्रस्त हुँदै मैदान बाहिरिएपछि बार्सा दबाबमा आएको थियो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । बार्साले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न सकेन । ४९ औं मिनेटमा पाल्मासले भने डेडलक तोड्यो । सान्द्रो रामिरेजले गोल गरेपछि स्टेडियम शान्त बनेको थियो । ६१ औं मिनेटमा बार्सा कप्तान राफिन्हाले गोल गर्दै खेल बराबरी गरे । तर कथा यतिमै सकिएन । उल्भ्सबाट लोनमा गएका फाबियो सिल्भाले ६७ औं मिनेटमा गोल गरेपछि पाल्मासले पुनः खेलमा अग्रता फर्काएको थियो । सिल्भाको यो पाँचौं लिग गोल हो । बाँकी समयमा हान्जी फ्लिकको टिमले पुनरागमन गर्न सकेन ।
सन् १९७१, सेप्टेम्बर यता बार्साले पाल्माससँग हार बेहोरेको यो पहिलो पटक हो । बार्सा लिगका पछिल्ला तीन खेलयता जितविहीन छ । पूरै खेल अवधिभर बार्साले २६ शट प्रहार गरेको थियो । जुन यो सिजनको खेलमा अहिलेसम्मकै उच्च हो । यद्यपि पाल्मासका लागि चुनौती दिन सकेन । तालिकाको शीर्ष स्थानमा कायमै बार्साको १५ खेलबाट ३४ अंक छ । १४औं स्थानमा उक्लिएको पाल्मासको १५ अंक छ ।
बार्साको हारले रियल मड्रिडलाई फाइदा पुग्न सक्छ । तेस्रो स्थानमा रहेको रियलको १३ खेलबाट ३० अंक छ । रियलले आज राति गेटाफेसँग खेल्दै छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ३२ अंक छ ।
















