काठमाडौं । नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो हार व्यहोर्दा जनकपुरले भने लगातार तेस्रो जित निकालेको छ। बिहीबारको पहिलो खेलमा जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको हो। एनपीएलको तीन खेलमा अपराजित जनकपुर ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ।
जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराएको थियो। दोस्रो खेलमा भने कर्णाली याक्सलाई ८ विकेटले नै हराएको थियो। पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो। पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।
पोखराले दिएको लक्ष्य भेट्टाउन लाहिरु मिलान्थाले ४५ रनको योगदान दिए। उनले ३२ बलमा ८ चौका प्रहार गरे। आशिफ शेखले ३४ बलमा ३ चौका सहयोगमा ३३ रन थपे। जेम्स निसम ४० र हर्ष ठाकेर १३ रनमा अविजित रहे। पोखराका लागि विपिन खत्री, माइकल लिक्स र कुशल भुर्तेलले समान एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १३८ रन बनाएको हो। ओपनर आन्द्रस गौसले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । चौथो ओभरको अन्तिम बलमा ललित राजवंशीद्वारा गौस आउट भए । छक्का प्रहार गरे लगत्तैको अर्को बलमा फेरी छक्काको प्रयास गरेका गौस बाउन्ड्रिमा जनकपुरका मार्की खेलाडी आसिफ शेखबाट क्याच आउट भए ।
माइकल लिस्कले १३ बलमा ३ छक्काको सहयोगमा २५ रन जोडे । लिस्क इनिङको अन्तिम ओभरमा किशोर महतोको बलमा बाउन्ड्रिमा आसिफ शेखबाट क्याच भए । राइमन राइफरले २० बलमा १७ रन बनाए । राइफर जिमी निशमको बलमा कप्तान अनिल शाहबाट क्याच आउट भए ।
न्युजिल्यान्डमा बसेर त्यहाँको घरेलु क्रिकेट खेलिरहेका दिनेश छैटौं ओभरको पाँचौ बलमा न्युजिल्यान्डका अन्तर्राष्ट्रिय क्रिकेटर जिमी निशमको बलमा आउट भए । दिनेशले १७ बलमा १० रन जोडेका थिए ।
कप्तान कुशल भुर्तेलले ६ बलमा १ चौकाको सहयोगमा ६ रन जोडे । ललित राजवंशीकाे बलमा विकेटकिपर लाहिरु मिलन्थाबाट स्टम्पीङ भए । दिलिप नाथ १४ बलमा ११ रन जोड्दै आउट भए । नाथ मोहम्मद मोहसिनको बलमा एलबिडब्लु धरापमा परे ।
जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ३१ रन खर्चे। जेम्स निसमले २ विकेट झारे। मोहम्मद मोहसिन र किशोर महतोले एक विकेट आफ्नो नाममा गरे।
तीन खेल खेलेको जनकपुर बोल्ट्स ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा आसीन छ । दुई खेल खेलेको चितवन राइनोज चार अङ्कसहित तेस्रो स्थानमा छ । दुई खेल खेलेको काठमाडौँ गुर्खाज दुई अङ्कसहित तेस्रो र एक खेलबाट दुई अङ्क बटुलेको सुदूरपश्चिम रोयल्स चौथो स्थानमा छन् ।
यसैगरी, तीन खेल खेलेको विराटनगर किङ्स दुई अङ्कसहित तालिकाको पाँचौँ स्थानमा आसीन छ । एक खेल खेलेको लुम्बिनी लायन्स, दुई खेल खेलेको कर्णाली याक्स र दुई खेल खेलेको पोखरा एभेन्जर्सले भने अङ्क बटुल्न सकेका छैनन् ।
















