काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ। सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनको फराकिलो अन्तरले हराउँदै शानदार जित निकालेको हो।
काठमाडौंका लागि स्टेफन स्किनाजीले सर्वाधिक ३७ रन जोडे । उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए । सुमित महर्जनले १० बलमा १४ रन जोड्दै अभिनास बोहोराको बलमा नरेन साउदबाट क्याच आउट भए । भीम सार्की ८ बलमा १० रन बनाउँदै रन आउट भए । जेहार्ड एरास्मसले ५ बलमा १० रन जोडे । एरास्मस नरेन साउदले एलबिडब्लु धरापमा पारे ।
नरेन साउदले १४औं ओभरमा स्किनाजी र राशीद खानलाई आउट गराएसँगै सुदूरपश्चिम खेलमा पुर्णरुपले हाबी भएको थियो । कप्तान करण केसी ठूलो सट खेल्ने चक्करमा नरेन साउदको बलमा आउट भए ।
सुदूरपश्चिमका लागि नरेन साउदले ४ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । अभिनास बोहोराले २ तथा ब्रन्डन म्याकमुलन र सेफ जैबले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि ब्रेन्डन मक्मेलनले सर्वाधिक ५३ रन जोडे । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । एनपिएलको पहिलो अर्धशतक उनले ३१ बलमा पूरा गरेका थिए । जेहार्डको बलमा मक्मलेन आउट भए । मक्मेलन र विनोद भन्डारीले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे ।
मक्मेलन आउट भए लगत्तैको बलमा भन्डारी पनि २८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३५ रनाउँदै आउट भए । विनोद साहब आलमको बलमा एलबिडब्लु आउट भए । दिपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । दिपेन्द्र लामो सट प्रहारको चक्करमा करण केसीको बलमा बाउन्ड्रिमा माइकल लेभिटबाट क्याच आउट भए ।
ओपनरको भुमीकामा आएका सेफ जैबले ९ बलमा ११ रन जोडे । ओपनर जैब ११ रन बनाउँदै राशिद खानको बलमा बोल्ड आउट भए । रोहन मुस्ताफले ७ बलमा ४ रन जोडे । मुस्ताफा राशिद खानको बलमा बोल्ड आउट भए । आरिफ शेख ३ रन बनाउँदै रन आउट भए ।
काठमाडौंका लागि राशिद खानले २ तथा करण केसी, जेहार्ड एरास्मस र साहब आलमले समान १ विकेट लिए ।
सुदूरपश्चिम लगातार दोस्रो जितका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजित काठमाडौंको ३ खेलबाट २ अंक भएको छ । आजै भएको पहिलो खेलमा पोखरा एभेनजर्सलाई ७ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको थियो ।
शुक्रवारको पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज तथा दोस्रो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।
















