काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । पोखरा एभेन्जर्सले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले हरायो । जारी एनपीएलमा कुनै पनि टोलीले विकेटका आधारमा हात पारेको यो नै सबैभन्दा ठुलो अन्तरको जित पनि हो ।
शुक्रबार पोखराले लुम्बिनी लायन्सविरुद्ध १० विकेटको विकेटको सनदार जित दर्ता गर्यो । लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको लक्ष्य लुम्बिनीले १६.५ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो ।
पोखराका आन्द्रेस गौसले नट आउट रहँदै सर्वाधिक १ सय ४ रन बनाए । उनले ५५ बलमा १२ चौका र ५ छक्का प्रहार गरे। एनपिएलमा नै पहिलो शतक गौसले ५४ बलमा पूरा गरेका हुन् ।
पहिलो विकेटका लागि गौसले दिनेश खरेलसँग मिलेर १ सय ७६ रनको नट आउट साझेदारी गरे । यो एनपिएलमा भएको सर्वाधिक रनको साझेदारी हो । यसअघि जनकपुरका लाहिरु मिलन्था र हर्ष ठाकरले विराटनगरविरुद्ध तेस्रो विकेटका लागि नट आउट १ सय १६ रनको साझेदारी गरेका थिए ।
न्युजिल्यान्डमा रहेर त्यहाँको घरेलु क्रिकेट खेल्ने दिनेशले ६१ रन जोडे । उनले ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । नेपालको अरु घरेलु क्रिकेट नखेल्ने दिनेशले २०७९ मा भएको नवौं राष्ट्रिय खेलकुदमा गैरआवासिय नेपाली टिमबाट खेलेका थिए ।
पोखराले पावर प्लेमा कुनै विकेट नगुमाई ८० रन जोड्दै सर्वाधिक रनको कीर्तिमान समेत बनायो । यसअघि जनकपुरले कर्णाली याक्सविरुद्ध कुनै विकेट नगुमाई बनाएको ५६ रनको कीर्तिमान लुम्बिनीले तोड्यो । लुम्बिनीले ७ बलरको प्रयोग गरेपनि कुनै विकेट निकाल्न सकेन ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको हो। चौथो विकेटका लागि कप्तान रोहित र टम मोरिसले १ सय १० रनको साझेदारी गरे।
कप्तान रोहित ९५ रनमा रनआउट भए। विवेक यादव २ रनमा नटआउट रहे। कप्तान रोहितले बनाएको ९५ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे।
टोम ४५ रन बनाउँदै रन आउट भए। उनले ३८ बलमा २ चौका र २ छक्का प्रहार गरे। लुम्बिनीका ओपनर आशुतोष घिरैया र उन्मुक्त चन्द शुन्य रनमा नै विपिन खत्रीको बलमा आउट भए।
सन्दीप जोरा १८ रन बनाउँदा एलबीडब्लु धरापमा परे। पोखराका लागि विपिन खत्रीले २ तथा म्याथ क्रिट्लेले एक विकेट लिए।
















