काठमाडौं । साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोको अल नासार अन्तिम समयमा अल इत्तिहादसँग स्तब्ध भएको छ । इत्तिहादले नासारलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्टस सिटीमा रियल मड्रिडका पूर्वखेलाडी करिम बेन्जिमा र क्रिस्टियानो रोनाल्डोको खेल हेर्न कीर्तिमानी ५५ हजार एक सय २० समर्थक उपस्थित थिए ।
खेलको ५५औं मिनेटमा इत्तिहादका लागि बेन्जिमाले गोल गरेपछि नासार एक शून्यले पछि परेको थियो । ५७औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याए । खेलमा दुवैले एक एक अंक बाँड्ने लगभग निश्चित भइसकेको थियो । तर इन्जुरी समयको अन्त्यमा स्टेभन बर्गविनले गोल गरेपछि नासार अंकविहीन भएको हो ।
इत्तिहाद १३ खेलबाट ३६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। चौथो स्थानको नासारको २५ अंक छ । तेस्रो स्थानको अल काद्सियाको २८ अंक छ । एक खेल कम खेलेको अल हिलाल ३१ अंक सहित दोस्रो स्थानमा छ ।
















