काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा ८ विकेटको क्षतिमा मात्र १ सय २६ रनमा सीमित बनेको हो ।
विराटनगरका लागि निकोलस किर्तनले सर्वाधिक ४० रनको योगदान दिए । उनले ३९ बलमा ४ चौका र एक छक्का प्रहार गरे ।
ओपनर लोकेश बमले ९ बलमा एक चौका र दुई छक्का हिर्काउँदै १९ रन जोडे । दीपक बोहोराले १८ रन बनाए । अन्य ब्याटरले ठुलो योगदान दिन सकेनन् ।
यता कर्णालीका लागि नन्दन यादवले शानदार बलिङ गर्दै ३ विकेट लिए । त्यस्तै, विपिन शर्माले २ तथा सोमपाल कामी, विलियम बोसिस्टो र युनिस ठकुरीले एक–एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो ।
टोलीका लागि विलियम बोसिस्टोले सर्वाधिक ६६ रनको योगदान दिए । क्रिस सोलको बलमा आउट हुनअघि उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै, देव खनालले पनि अर्धशतकीय इनिङ्स खेले । खनालले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गरे । अन्य खेलाडीले भने दोहोरो अंकमा पनि रन जोड्न सकेनन् ।
विराटनगरका लागि प्रतिश जिसीले ४ विकेट लिए । उनले सबै विकेट अन्तिम ओभरमा लिएका थिए । ४ ओभरमा उनले मात्र १७ रन खर्चिए ।
बसिर अहमदले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर २ विकेट हात पारे । त्यस्तै क्रिस सोलले पनि ४ ओभरमा २५ खर्चेर २ विकेट लिए । अकिब इलियासले एक विकेट हात पारे ।
कर्णाली र विराटनगर दुवैको यो चौथो खेल थियो । यसअघि दुवै टोलीले १ खेलमा जित र दुई खेलमा हार बेहोरेका थिए ।
कर्णाली जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजसँग पराजित भएको थियो भने चितवन राइनोजलाई हराएको थियो ।
उता विराटनगर पहिलो खेलमा नै जनकपुर बोल्ट्ससँग स्तब्ध भएको थियो भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग हार्न पुगेको थियो । तेस्रो खेलमा भने टोलीले लुम्बिनीलाई पराजित गर्न सफल भएको थियो ।