काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्लब सुदूरपश्चिम रोयल्सले क्यानडाका अलराउन्डर दिलप्रित सिंह बाजवालाई भित्र्याएको छ । २१ वर्षीय खेलाडी दाँया हाते ब्याट्सम्यानका साथै अफब्रेक बलर हुन् ।
उनले १२ टी–२० अन्तर्राष्ट्रिय खेल्दै २ सय २४ रन बनाएका छन् । दिलप्रीतले क्यानडाका लागि १२ टी २० आई खेल खेल्दा २ सय २४ रन बनाएका छन् । सबैखाले टी २० पनि उनको यति नै हो ।
ग्लोबल टी २० मा मोन्ट्रियल टाइगर्सबाट खेलेका उनले ६ खेलमा ६८ को औसतले २०६ रन बनाएका थिए जसमा एक शतक पनि समावेश छ । उनी यसै वर्ष भएको आइसीसी टी२० विश्वकपमा पनि क्यानडाको टोलीबाट खेलेका थिए ।
उनलाई रोहन मुस्तफाको स्थानमा टोलीले भित्र्याएको हो । उनीबाहेक टोलीमा विदेशी खेलाडीका रूपमा ब्रान्डन म्याकमुलेन, स्कट कुगेलेइन, सैफ अलि जेब रहेका छन् ।
ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको क्लब हो, सुदूरपश्चिम रोयल्स । ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिले सुदूरपश्चिम रोयल्सको स्वामित्व एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ रुपैयाँमा खरिद गरेको हो ।
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी भने दीपेन्द्रसिंह ऐरी हुन् । उनी राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर पनि हुन् । सुदूरपश्चिम रोयल्सका प्रमुख प्रशिक्षक जगत टमटा हुन् ।