काठमाडौँ । नेपालको यू–१९ टोलीले शुक्रबार खेलिएको तेस्रो एकदिवसीय क्रिकेटमा हङ्कङको यू–१९ टोलीलाई जितका लागि २ सय ६६ रनको विशाल लक्ष्य दिएको छ ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले ४९.१ ओभरमा अलआउट हुनुअघि दुई सय ६५ रन बनाएको हो ।
नेपालका लागि तीन ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । ओपनर ब्याट्सम्यान सूर्यान्शु कोइरालाले ६० रन बनाए । उनले ९६ बलको सामना गरी एक छक्का र आठ चौका पनि हिर्काए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका सन्तोष यादवले पनि टोलीका लागि ५३ रनको योगदान गरे । उनले केवल ४५ बलको सामना गरी एक छक्का र ६ चौका प्रहार गरे ।
यसैगरी, सातौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान अभिषेक तिवारीले पनि टोलीका लागि ५६ रनको योगदान गरे । उनले केवल ४१ बलमा दुई छक्का र चार चौका हिर्काए ।
नेपालका लागि नरेन भट्टले पनि ३६ रनको योगदान गरे । उनले ४७ बलमा दुई चौका प्रहार गरे । ओपनर सोहेल कुँवर भने १३ रन बनाउँदै आउट भएका थिए । राजेश बोहराले ११ रन बनाए ।
नेपालले अतिरिक्त रुपमा पनि २१ रन पायो । हङ्कङका बलर प्रित मंगुकिया, सायन पुरी, पार्थ श्रीवास्तव र ड्यानियल म्यापले दुई–दुई विकेट लिए ।
तीन खेलको शृङ्खला भने नेपालले यसअघि नै जितिसकेको छ । पहिलो खेलमा नेपाल तीन विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपाल दुई सय २६ रनको विशाल अन्तरले विजयी भएको थियो ।















