नेकपा थाहा नगरपालिकाद्वारा चुनावी अभियानको औपचारिक सुरुवात

Image

हेटौंडा/ थाहा नगरपालिका, मकवानपुर — नेकपा (नेपाल कम्युनिस्ट पार्टी) थाहा नगरपालिकाले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी अभियानको औपचारिक सुरुवात गरेको छ। नगरपालिकाको केन्द्रमा आयोजित विशेष कार्यक्रममार्फत अभियानको शुभारम्भ गरिएको हो।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टीबाट क्षेत्र नम्बर २ मा लबशेर बिष्ट उम्मेदवार रहेका छन् भने नेकपा एमालेबाट महेश बर्तौला प्रतिस्पर्धी उम्मेदवारका रूपमा रहेका छन्।

अभियान उद्घाटन कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले जनमुखी विकास, सुशासन, शिक्षा, स्वास्थ्य तथा रोजगारीलाई प्राथमिकतामा राखेर अभियान अघि बढाइने बताएका छन्। उनीहरूले थाहा नगरपालिकाको समग्र विकासका लागि पार्टीसँग स्पष्ट नीति तथा कार्यक्रम रहेको उल्लेख गर्दै जनसमर्थन आवश्यक रहेको धारणा व्यक्त गरे।

पार्टीले अभियानअन्तर्गत घरदैलो कार्यक्रम, जनभेटघाट, कोणसभा, अन्तरक्रिया तथा प्रचार–प्रसारका विभिन्न गतिविधि सञ्चालन गर्ने जनाएको छ। स्थानीय तहमा संगठनलाई थप सुदृढ बनाउँदै जनताको भरोसा जित्ने उद्देश्यका साथ अभियान अघि बढाइएको पार्टीको भनाइ छ।