मकवानपुरमा छठ पूजाका लागि प्रशासनको १० बुँदे निर्देशन, पटका र डिजेमा प्रतिबन्ध

Image

हेटौंडा । मकवानपुरमा छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालयले विभिन्न निर्देशन जारी गरेको छ।

हेटौंडा–१ स्थित राप्ती खोला किनारमा हुने छठ पूजालाई लक्षित गर्दै प्रशासनले यातायात, पार्किङ र सुरक्षाको विशेष व्यवस्था मिलाएको जनाएको छ। छठ घाट पुग्न राप्ती रोड हुँदै चोकबाट तरकारी मण्डी भएर जाने वैकल्पिक मार्ग प्रयोग गर्न तथा तरकारी मण्डीपछाडिको फुटबल मैदानमा सवारी पार्किङ गर्न आग्रह गरिएको छ।

प्रशासनले छठ घाट तथा आसपासका क्षेत्रमा पटका, आतिसबाजी र भुइँचम्पा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। त्यस्तै, मासु तथा मदिराजन्य वस्तुको बिक्री, वितरण र प्रयोगमा रोक लगाउनुका साथै ठूलो आवाजमा डिजे तथा लाउडस्पिकर बजाउनसमेत निषेध गरिएको छ।

भीडभाडमा बहुमूल्य गरगहना नलगाउन, बालबालिकाको खल्तीमा अभिभावकको सम्पर्क नम्बर राखिदिन तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न प्रशासनले आग्रह गरेको छ।

यसैगरी, दीपावली तथा विद्युतीय उपकरण प्रयोग गर्दा आगलागीबाट जोगिन सतर्कता अपनाउन र शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीको १०० नम्बरमा खबर गर्न अनुरोध गरिएको छ।
जारी निर्देशन उल्लंघन गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।