हेटौडा/ हेटौडा उपमहानगरपालिका–१५ का अध्यक्ष सुनिल मोक्तानले भूमिहीन तथा अव्यवस्थित सुकुम्बासीमाथि भइरहेको हटाउने र घरटहरा भत्काउने कार्यप्रति घोर आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो कार्यलाई अमानवीय र अन्यायपूर्ण भएको बताएका हुन्।
अध्यक्ष मोक्तानले देशभर अझै करिब १६ लाखभन्दा बढी नागरिक भूमिहीन अवस्थामा रहेको उल्लेख गर्दै विभिन्न समयमा गठन भएका आयोगहरूले केही नागरिकलाई मात्र जग्गा उपलब्ध गराए पनि धेरै वास्तविक सुकुम्बासी अझै लालपुर्जाबाट वञ्चित रहेको बताएका छन्।
उनका अनुसार हेटौडा उपमहानगरपालिका–१५ मा २०११ सालदेखि बसोबास गर्दै आएका नागरिकहरूले हालसम्म पनि लालपुर्जा प्राप्त गर्न सकेका छैनन्। यस्तो अवस्थामा कुनै वैकल्पिक व्यवस्थापनबिना सुकुम्बासीहरूलाई हटाउने तथा घरटहरा भत्काउने कार्य हुनु दुःखद रहेको उनको भनाइ छ।
मोक्तानले वडाभित्रका सम्पूर्ण भूमिहीन, दलित किसान तथा अव्यवस्थित सुकुम्बासी नागरिकहरूलाई आश्वस्त पार्दै उनीहरूको अधिकारका लागि सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले लालपुर्जा प्राप्ति र व्यवस्थित बसोबास सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।
साथै, उनले राज्यद्वारा भइरहेको दमन तथा आतंकपूर्ण गतिविधि तत्काल अन्त्य गरी पीडितहरूलाई न्याय दिलाउन सम्बन्धित निकायसँग उचित कदम चाल्न जोडदार माग गरेका छन्।
अध्यक्ष मोक्तानले अव्यवस्थित र अन्यायपूर्ण ढंगले नभई व्यवस्थित, न्यायपूर्ण र दिगो समाधानमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
















