हेटौंडा/ जिल्ला प्रशासन कार्यालय मकवानपुर ले सरकारी कार्यालयको सेवा प्रवाहलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन जिल्लाभर विशेष अनुगमन अभियान सुरु गरेको छ। सोमबारदेखि लागू गरिएको अभियान अन्तर्गत सरकारी कार्यालयको सरसफाइ, सेवाग्राहीसँगको व्यवहार तथा बजारमा व्यवसायिक प्रतिष्ठानले मूल्य सूची राखे–नराखेको विषयमा निगरानी थालिएको हो।
‘राष्ट्रिय सरसफाइ सप्ताह–२०८३’ अन्तर्गत सञ्चालन गरिएको अभियानमा सरकारी कार्यालयलाई ५१ वटा सूचकका आधारमा मूल्यांकन गरिने भएको छ। कार्यालयको वातावरण, ट्वाइलेटको अवस्था, स्वच्छ खानेपानी, हेल्प डेस्कको व्यवस्थापन, फोहर व्यवस्थापन र बिचौलियाको नियन्त्रणलगायत पक्षलाई मूल्यांकनको आधार बनाइएको प्रशासनले जनाएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी ले बजार क्षेत्रमा होटल, रेस्टुरेन्ट, चिया पसल, किराना तथा अन्य व्यवसायिक प्रतिष्ठानमा मूल्य सूची अनिवार्य रूपमा राखिएको छ कि छैन भन्ने विषयमा विशेष अनुगमन गरिने जानकारी दिए।
उपभोक्तालाई स्पष्ट मूल्य जानकारी नदिई मनपरी शुल्क लिने प्रवृत्ति बढेपछि अभियानलाई कडाइका साथ अघि बढाइएको उनले बताए।
प्रशासनका अनुसार मूल्य सूची नराख्ने तथा उपभोक्तालाई भ्रममा पार्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिनेछ। नेपाल सरकारले तयार पारेको मूल्य सूचीसम्बन्धी कार्यविधिलाई मकवानपुरमा प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रशासनको भनाइ छ।
आजदेखि १ जेठसम्म सञ्चालन हुने राष्ट्रिय सरसफाइ सप्ताह–२०८३ अन्तर्गत जिल्लाका सबै सरकारी कार्यालयमा दैनिक बिहान सरसफाइ कार्यक्रम सञ्चालन हुनेछ। मूल्यांकनपछि कार्यालयलाई ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा वर्गीकरण गरिनेछ।
प्रजिअ अधिकारीले सरसफाइ अभियान केवल बाहिरी सफाइमा सीमित नभई कार्यालयभित्रको सेवा संस्कार सुधारसँग जोडिएको बताए। “जनताले सेवा लिन आउने कार्यालय सफा, व्यवस्थित र नागरिकमैत्री हुनुपर्छ,” उनले भने।
यससँगै सरकारी कार्यालयमा ‘इम्प्लोई अफ द मन्थ’ कार्यक्रम पनि लागू गरिने भएको छ। सेवाग्राहीसँगको व्यवहार, इमान्दारिता र सेवा प्रवाहका आधारमा उत्कृष्ट कर्मचारी छनोट गरी हेल्प डेस्कमा तस्वीर राखिने व्यवस्था मिलाइने प्रशासनले जनाएको छ।















