हेटौंडा/ मकवानपुरको Hetauda School of Management ले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा नयाँ भर्ना खुला गरेको छ। विद्यालयले विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, शिक्षा तथा ब्युटिसियन एण्ड हेयरड्रेसिङ संकायमा अध्ययनको अवसर उपलब्ध गराएको जनाएको छ।
विद्यालयका अनुसार गुणस्तरीय शिक्षा, अनुभवी तथा दक्ष शिक्षक, आधुनिक शिक्षण पद्धति, व्यवहारिक सिकाइ र विद्यार्थीमैत्री वातावरणका कारण हेटौंडा स्कुल अफ म्यानेजमेन्ट विद्यार्थी तथा अभिभावकहरूको रोजाइमा पर्न सफल भएको छ। विद्यालयले शैक्षिक उपलब्धिसँगै विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता, सिर्जनशीलता तथा व्यवहारिक सीप विकासमा समेत विशेष जोड दिँदै आएको जनाएको छ।
गत शैक्षिक सत्र २०८२ मा Navodaya Shishu Sadan तथा Navodaya Innovation Center सँगको सहकार्यमा सञ्चालन गरिएको विशेष शिक्षक शिक्षा कार्यक्रम प्रभावकारी बनेको विद्यालयले जनाएको छ। पहिलो ब्याचका विद्यार्थीहरूले शिक्षण सीप, व्यवहारिक ज्ञान र व्यक्तित्व विकासमा उल्लेखनीय प्रगति गरेको विद्यालयको दाबी छ।
विद्यालयले यही सकारात्मक अनुभवलाई निरन्तरता दिँदै शैक्षिक सत्र २०८३ मा पनि कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ। कार्यक्रममा नेपाली, अंग्रेजी र गणित विषयका १०/१० जना गरी ३० जना विद्यार्थीलाई शतप्रतिशत निःशुल्क अध्ययनको अवसर प्रदान गरिनेछ।
यस कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेन्टले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ भने नवोदय शिशु सदनले ल्याब स्कुलका रूपमा प्रयोगात्मक सिकाइको अवसर उपलब्ध गराउनेछ। त्यसैगरी नवोदय इनोभेसन सेन्टरले मार्गदर्शन तथा प्रशिक्षण प्रदान गर्ने जनाएको छ।
विद्यालयका अनुसार कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन।
विद्यार्थीहरूलाई शिक्षण अभ्यास, कार्यशाला, प्रस्तुतीकरण, विद्यालय अवलोकन तथा कक्षा शिक्षण अभ्यासमार्फत व्यवहारिक अनुभव प्रदान गरिनेछ। हप्तामा दुई दिन विशेषज्ञ शिक्षकमार्फत मार्गदर्शन कक्षा सञ्चालन गरिनेछ भने सो दिन निःशुल्क खानाको व्यवस्था समेत गरिने विद्यालयले जनाएको छ।
उपस्थिति तथा सहभागिताका आधारमा प्रत्येक महिना एक हजार रुपैयाँका दरले प्याकेज खर्च उपलब्ध गराइने तथा आवश्यकता र क्षमता अनुसार प्रशिक्षार्थी विद्यार्थीहरूलाई रोजगारी व्यवस्थापनको अवसर समेत प्रदान गरिने जानकारी दिइएको छ।
विद्यालयले आवेदन दिएका विद्यार्थीहरूको अन्तर्वार्ता जेठ ११ गतेदेखि सञ्चालन हुने जनाएको छ। साथै एसईई उत्तीर्ण विद्यार्थी तथा अभिभावकहरूलाई विद्यालयमा सम्पर्क गरी भर्ना प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ।












