हेटौंडा/ मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको समापन भएको छ । कैलाश २ मा अवस्थित कमलादेवी माविबाट सुरु भएको कार्यक्रम शनिबार कैलाश ९ नामटारमा रहेकाे कालिका माविमा कार्यक्रम गरे सङ्गै समापन भएको हाे । वडा ९ का वडाध्यक्ष भुवन सिं घलानकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मुक्तानले गाउँपालिकाले अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमलाई नीति तथा कार्यक्रममा राखेर यसवर्षदेखी कार्यक्रम सञ्चालन गरिएको बताए । बालबालिकाको निगरानी अभिभावकको हो, शिक्षा नीति अनुरुप अभिभावकलाई शिक्षा दिनु आवश्यक रहन्छ, मुक्तानले भने । बालबालिकाको सोच परिवर्तन गरि शिक्षा प्रदान गरिनुका साथै अभिभावकको सुझाव अनुसार स्थानीय सरकारले आवश्यक नीति निर्माण गरिने बताए ।
सामाजिक सञ्जालले विद्यार्थीहरु मात्र नभई अभिभावकमा पनि ठुलो असर पर्दै गइरहेको अध्यक्ष मुक्तानले बताए । सञ्जालले सकरात्मक भन्दा नकरात्मक विषयवस्तु बढि पाइने भएकाले पठनपाठनमा समेत असर पुगेको देखिन्छ । कैलाशमा शिक्षामा सुधार भइरहेको छ, सिक्ने र सिकाउने कार्य निरन्तर रहिरहने भएकाले विद्यालयमा मात्र नभई आफ्ना बच्चाहरुलाई घरमा पनि अभिभावकहरुले पठनपाठनमा ध्यान दिनुपर्ने बताए ।
विद्यार्थी प्रविधिसँग जोडिनु राम्रो हो तर अहिले मोवाईल प्रयोगले पठनपाठनमा समस्या उत्पन्न भइरहेको उनले बताए । बालबालिकाको पहिलो पाठशाला घर हो, घरबाट बालबालिकालाई शिक्षित बनाउने वातावरण अभिभावककाे रहन्छ ।
बच्चालाई कस्ताे बनाउने अभिभावककाे हातमा रहन्छ । स्वास्थ्य र शिक्षामा बालबालिकालाई कसरी अघि बढाउने काम भनेकाे अभिभावक हाे, वडाध्यक्ष भुवन सिं घलानले बताए । राम्राे मान्छेकाे मात्रै सङ्गत गराउनु पर्छ, सबै बच्चा राम्राे बनाउनु पर्छ ।
स्कुल जाने भनेर बच्चाहरुबीच बाटाेमा तास खेल्नुका साथै खाेला र पानीमा खेलेर बसेकाे भेटिएकोले शिक्षक र अभिभावकले त्यसतर्फ ध्यान दिन वडाध्यक्ष घलानले बताए । सामाजिक सञ्जालले विकृति निम्त्याएको छ । लागू पदार्थ सेवन सङ्गै बच्चाहरु माेवाइल हेरेर लतमा फसेकाे उनले बताए ।
लत भनेकाे चुराेट,सुर्ती गाजाँ मात्रै हाेइन माेवाइल पनि लत रहेकाे घलानले बताए । घरमा संस्कार अभिभावकले दिने विद्यालयमा शिक्षा शिक्षकले दिने उनले बताए । बालबालिकाको पढाईमा शिक्षक र अभिभावक दुबैको दायित्व रहने बताए ।
कार्यक्रममा मुख्य प्रशिक्षक अभिषेक घिमिरेले अभिभावक शिक्षा र सचेतना सम्बन्धी कार्यपत्र प्रस्तुत गरी शिक्षा प्रदान गरेका थिए । शनिबार कालिका मावि सङ्गै कैलाश १० मा रहेकाे शान्ति सृजना आधारभूत विद्यालयमा पनि कार्यक्रम गरिएको थियाे । वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लाेनकाे अध्यक्षतामा कार्यक्रम भएको थियाे ।
तीन दिन सञ्चालन भएको अभिभावक शिक्षा कार्यक्रममा बालबालिका सम्बन्धी जनचेतनामूलक गतिविधि, अभिभावक शिक्षा, सामाजिक सचेतना तथा सरोकारवालाबीच अन्तरक्रियाले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने शिक्षा शाखा प्रमुख समीर जोशीले बताए । विद्यार्थीको व्यवहार सुधार, सिकाइ क्षमता वृद्धि, घर-विद्यालय समन्वय सुदृढीकरण तथा समूदायमा सकरात्मक परिवर्तन ल्याउनुनै कार्यक्रमको मुख्य उद्देश्य रहेको जोशीले बताए ।
कार्यक्रममा गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टिकाराम अधिकारी, शिक्षा शाखा प्रमुख समीर जोशी, मुख्य प्रशिक्षक अभिषेक घिमिरे, कालिका माविका प्रअ रामप्रसाद कालाखेती, स्रोत शिक्षक ध्रुवराज विष्ट, शान्ति सृजना विद्यालयका अध्यक्ष कमल अर्याल, प्रअ हिरा कुमारी माेक्तान लगायतको आतिथ्यता रहेको थियो । ३ दिन सञ्चालन भएको कार्यक्रममा करिब एक हजार भन्दा बढि अभिभावकहरुकाे सहभागीता रहेकाे थियाे ।













