एचआइभी संक्रमण घट्दो क्रममा, तर चुनौती अझै उस्तै : सामाजिक कलंक र ढिलो परीक्षण मुख्य बाधा

Image

हेटौंडा/ बागमती प्रदेशमा एचआईभी संक्रमण दर घट्दो क्रममा देखिए पनि नियन्त्रण र व्यवस्थापन अझै चुनौतीपूर्ण रहेको तथ्य सार्वजनिक भएको छ । संक्रमण नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका भए पनि सामाजिक कलंक, ढिलो परीक्षण, उपचारमा निरन्तरता अभाव र दुर्गम क्षेत्रमा सेवा पहुँचको कमीले लक्ष्य प्राप्तिमा असर गरिरहेको सरोकारवालाहरूले बताएका छन् ।

स्वास्थ्य निर्देशनालय, हेटौँडाले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा हाल अनुमानित ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेका छन् भने वयस्क जनसंख्यामा संक्रमण दर ०.१३ प्रतिशत रहेको छ । नेपालमा दैनिक औसत १.७ जना नयाँ व्यक्ति एचआईभीबाट संक्रमित हुने गरेका छन् ।

पछिल्ला वर्षहरूमा संक्रमण पुष्टि हुने संख्या घट्दो क्रममा देखिएको छ । बागमती प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा ८८३ जनामा संक्रमण पुष्टि भएकोमा २०८०/८१ मा यो संख्या घटेर २०८ पुगेको थियो । चालु आर्थिक वर्ष २०८१/८२ मा भने ७२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशभर हाल १८ वटा एआरटी (ART) सेवा केन्द्र, ६ वटा ओएसटी (OST) सेवा केन्द्र तथा काठमाडौं र चितवनमा २ वटा भाइरल लोड परीक्षण केन्द्र सञ्चालनमा रहेका छन् । मकवानपुरमा पनि एक एआरटी केन्द्र र एक ईआईडी संकलन केन्द्र सञ्चालनमा छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा ‘९५–९५–९५’ लक्ष्य हासिल गर्ने अभियान जारी रहे पनि पहिलो र तेस्रो ‘९५’ लक्ष्य अझै चुनौतीपूर्ण अवस्थामा छ । प्रदेशमा अनुमानित ८ हजार ३२८ संक्रमितमध्ये ७ हजार १७४ जनाले मात्रै आफ्नो स्वास्थ्य अवस्था थाहा पाएका छन् । संक्रमितमध्ये ७ हजार १०४ जना उपचार सेवामा आबद्ध छन् भने ६ हजार ७० जनामा भाइरल लोड दबिएको अवस्था रहेको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०८१/८२ मा पीएमटीसीटी (आमाबाट बच्चामा संक्रमण रोकथाम) सेवा अन्तर्गत बागमती प्रदेशमा १ लाख १९ हजार ६१७ जनालाई परामर्श सेवा प्रदान गरिएको थियो । तीमध्ये ९४ हजार ९९२ जनामा परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

मकवानपुरमा मात्रै ७ हजार ६९८ जनालाई परामर्श सेवा तथा ६ हजार ३७ जनामा परीक्षण गरिएको थियो । जिल्लामा दुई जना गर्भवती महिलामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यस्तै एचटीसी (HIV Testing and Counselling) सेवा अन्तर्गत चालु आर्थिक वर्षमा बागमती प्रदेशभर २१ हजार २२९ जनामा परीक्षण गर्दा ७२७ जनामा संक्रमण पुष्टि भएको छ । मकवानपुरमा ९ हजार ५५९ जनामा परीक्षण गर्दा गर्भवती महिलासहित ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजना तथा एएचएफ नेपालको सहयोगमा सोमबार हेटौँडामा सञ्चारकर्मीहरूका लागि एचआईभी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा को अध्यक्षतामा आयोजित कार्यक्रममा मकवानपुरमा क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा एएचएफ नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटा ले एचआईभी सम्बन्धी विषयमा सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै जिम्मेवार र संवेदनशील समाचार सम्प्रेषणको आवश्यकता औँल्याउनुभयो । उहाँले जनचेतना अभिवृद्धि र प्रभावकारी पैरवीका लागि तथ्यमा आधारित तथा नैतिक समाचार सम्प्रेषण आवश्यक रहेको बताउनुभयो ।

उहाँका अनुसार एएचएफ विश्वकै ठूलो एचआईभी तथा एड्स स्वास्थ्य सेवा प्रदान गर्ने संस्था हो, जसले हाल ५० देशमा ३० लाखभन्दा बढी मानिसलाई सेवा प्रदान गरिरहेको छ । नेपालमा सन् २००८ मा स्थापना भएको एएचएफ नेपालले सन् २००९ देखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमार्फत राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रसँग सहकार्य गर्दै सेवा सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

“आर्थिक क्षमता नभएका व्यक्तिलाई समेत आधुनिक उपचार र सहयोग” भन्ने उद्देश्यसहित संस्थाले एचआईभी संक्रमित व्यक्तिहरूलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ थियो ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका जनस्वास्थ्य प्रशासक सन्जु रोई ले प्रदेशको एचआईभी अवस्थाबारे तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँका अनुसार बागमती प्रदेशमा करिब ७ हजार ४ सय मानिसमा एचआईभी संक्रमण पुष्टि भएको छ । तराईका सीमा क्षेत्र, काठमाडौं र पोखरा संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रका रूपमा चिनिएका छन् ।

हाल निर्देशनालयले लागूऔषध प्रयोगकर्ताका लागि प्रतिस्थापन उपचार सेवा तथा एचआईभी परीक्षण र परामर्श सेवा सञ्चालन गरिरहेको जनाएको छ । सन् २०२६ सम्ममा ‘९५–९५–९५’ लक्ष्य हासिल गर्ने योजना रहे पनि हाल बागमती प्रदेशका ८६ प्रतिशत संक्रमितले मात्रै आफ्नो स्वास्थ्य अवस्था थाहा पाएका छन् । संक्रमितमध्ये ९७ प्रतिशत नियमित उपचार सेवामा आबद्ध रहेका छन् भने उपचारमा रहेका मध्ये ८५ प्रतिशतको शरीरमा संक्रमणको असर नियन्त्रणमा आएको तथ्यांक प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा पछिल्लो समय नयाँ संक्रमित फेला पर्ने क्रम जारी रहे पनि अघिल्ला वर्षहरूको तुलनामा संक्रमण दर घट्दो क्रममा रहेको जानकारी दिइएको थियो ।