हेटौंडामा चोरी गर्ने दुई युवक पक्राउ

Image

हेटौंडा / मकवानपुर प्रहरीले चोरी तथा डाँका सम्बन्धी घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट सुनजस्ता गरगहना, नगद र ताल्चा काट्न प्रयोग हुने बोल्टकटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले मिति २०८३ जेठ १३ गते राति करिब ३:३० बजे हेटौंडा उपमहानगरपालिका–५ स्थित सानोपोखरा चोकमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा मकवानपुरगढी गाउँपालिका–८ बुढीचौर घर भई हाल हेटौंडा–७ कमानेमा डेरा गरी बस्ने २३ वर्षीय चुडामणी खड्का र २१ वर्षीय टेकबहादुर खड्का रहेका छन्।

प्रहरीले उनीहरूको शरीर तथा साथमा रहेको झोलाको खानतलासी गर्दा सुनजस्तो देखिने पहेंलो धातुको चुरा २ थान, औंठी १ थान, झुम्का २ थान, घडी ४ थान, सुन राख्ने डब्बा १ थान, नगद रु. ४ हजार १ सय १५ तथा ताल्चा काट्न प्रयोग हुने बोल्टकटर १ थान बरामद गरेको जनाएको छ।

बरामद सामानसहित दुवै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।