पेट्रोलियम विक्रेतासङ्घको अध्यक्षमा इटेनी निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

Image

हेटौँडा/ नारायणी पेट्रोलियम विक्रेता सङ्घ को १४औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट उत्सव इटेनी पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ।

शनिबार हेटौँडामा सम्पन्न अधिवेशनले इटेनीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। सङ्घको वरिष्ठ उपाध्यक्षमा ठाकुर भट्टराई, उपाध्यक्षमा दीपेन्द्र बर्तौला, सचिवमा विष्णुहरि पण्डित, सहसचिवमा उत्तम खड्का तथा कोषाध्यक्षमा रामजी कोइराला निर्वाचित हुनुभएको छ। त्यसैगरी कार्यसमिति सदस्यमा रामेश्वर श्रेष्ठ, अभिषेक बर्तौला, राजु बिडारी र मनोजकुमार शाह निर्वाचित भएका छन् भने किशोर शर्मा कंडेल पदेन सदस्य रहनुभएको छ।

यसैबीच, सङ्घले मकवानपुरका पत्रकार राममणि दाहाल र प्रताप विष्ट लाई सम्मान गरेको छ। जिल्लाको आर्थिक तथा सामाजिक विकासमा पत्रकारितामार्फत महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै दाहाललाई ‘राजन थापा स्मृति पत्रकारिता पुरस्कार’ तथा विष्टलाई ‘बलराम दास स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो। दुवै पत्रकारलाई जनही ११ हजार १११ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै लिलेन्द्रप्रसाद प्रधान ले पेट्रोलियम पदार्थको कारोबार अत्यावश्यक सेवा भएकाले पेट्रोल पम्प २४सै घण्टा सञ्चालन हुने व्यवस्थाअनुसार निगमका डिपोहरू पनि नियमित रूपमा सञ्चालन हुनुपर्ने बताउनुभयो। उहाँले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायको समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।

त्यसैगरी नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख अशोक शाहले चुनौतीपूर्ण परिस्थितिमा पनि निगमले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सुनिश्चित गरेको बताउनुभयो। उहाँले पेट्रोलियम पदार्थ बिक्रेताले निजी सवारी साधनमार्फत समेत ढुवानी गर्न पाउने व्यवस्था रहेको जानकारी दिनुभयो।

कार्यक्रममा विभिन्न वक्ताहरूले पेट्रोलियम पदार्थको आपूर्ति, पारदर्शिता, सूचना प्रवाह तथा लगानीअनुसारको उचित मुनाफाका विषयमा धारणा राखेका थिए। कार्यक्रम सङ्घका अध्यक्ष उत्सव इटेनीको अध्यक्षतामा सम्पन्न भएको थियो।