हेटौंडा/ सेवा सहयोग आवाज हामीका अध्यक्ष विशाल राज महतले सडक दुर्घटनामा ज्यान गुमाएका राम दाइप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत राज्यको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएका छन्।
महतले राम दाइसँग आफ्नो आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै हरेक बिहान हुने भेटघाट र संवादको स्मरण गरेका छन्। “आजको बिहान त्यो भेट हुन सकेन, अब कहिल्यै हुनेछैन। किनकि सडकको खाल्डाखुल्डीले एउटा जीवन खोस्यो,” उनले लेखेका छन्।
उनले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यो घटनाले केवल एक व्यक्तिको मृत्यु मात्र नभई एउटा परिवारले अभिभावक, छोराछोरीले सहारा, समाजले असल साथी तथा देशले एक नागरिक गुमाएको बताएका छन्।
महतका अनुसार यो घटना सामान्य दुर्घटना नभई राज्यको लापरबाहीको परिणाम हो। वर्षौंदेखि जीर्ण सडक मर्मत नगर्ने, कर असुलेर पनि सुरक्षित सडक उपलब्ध गराउन नसक्ने तथा जनताका गुनासा नसुन्ने निकायहरू नैतिक रूपमा यस घटनाका जिम्मेवार रहेको उनको भनाइ छ।
“नागरिकले सडक कर, इन्धन कर, ब्लुबुक नवीकरण शुल्क र जरिवाना समयमै तिर्नुपर्छ। तर सडकको खाल्डोका कारण नागरिकको ज्यान जाँदा राज्यको जिम्मेवारी कहाँ जान्छ?” भन्दै उनले प्रश्न उठाएका छन्।
उनले नागरिकले नियम उल्लङ्घन गर्दा दण्ड भोग्नुपर्ने व्यवस्था भएझैँ राज्यको लापरबाहीका कारण नागरिकको मृत्यु हुँदा सम्बन्धित निकाय र पदाधिकारी पनि कानुनी तथा नैतिक रूपमा जवाफदेही हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
महतले श्रद्धाञ्जलीका शब्दले मात्र समस्या समाधान नहुने उल्लेख गर्दै सुरक्षित सडक निर्माण, निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा यस्ता घटनाको पुनरावृत्ति रोक्न तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।
“राम दाइको मृत्यु केवल एउटा दुर्घटना होइन, राज्यको गैरजिम्मेवारीको परिणाम हो। अब संवेदना होइन, जिम्मेवारी चाहिन्छ; भाषण होइन, सुरक्षित सडक चाहिन्छ,” उनले लेखेका छन्।
अन्त्यमा उनले प्रश्न गरेका छन्, “जनताको ज्यानको मूल्य आखिर कसले तिर्ने?”
















