फोहोर खोज चुनौती कार्यक्रम सम्पन्न, २,२०० केजी अजैविक फोहोर संकलन

Image

हेटौंडा/ विश्व वातावरण दिवस–२०८३ को अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित “फोहोर खोज चुनौती कार्यक्रम” सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिकाको सहयोग, टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा तथा टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–८ को व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा १९ वटा टोल विकास संस्थाका ३८ समूहहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले आफ्नो क्षेत्रबाट अजैविक फोहोर संकलन गरी कुल २,२०० केजी फोहोर व्यवस्थापनका लागि संकलन गरेका छन्।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ८ का वडा सदस्य गोरख राय, नगर समन्वय समितिका सचिव तथा कार्यक्रम संयोजक शुशिला मल्ल, वडा समन्वय समितिका अध्यक्ष कुमार केसीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एकलाल श्रेष्ठले वातावरण संरक्षणका लागि समुदायस्तरबाट सञ्चालन गरिएका यस्ता अभियानले नागरिकमा जिम्मेवारीबोध बढाउने तथा स्वच्छ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले वातावरण संरक्षणलाई व्यवहारमा उतार्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

सभाध्यक्ष ध्रुवप्रसाद अधिकारीले प्लास्टिकजन्य तथा अन्य अजैविक फोहोरको उचित व्यवस्थापन आजको आवश्यकता भएको बताउँदै “स्वच्छ, हरियाली र प्लास्टिकमुक्त हेटौंडा” निर्माणका लागि टोलस्तरबाट यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

प्रतियोगिताको नतिजाअनुसार कालिका टोल विकास संस्था (समूह B) प्रथम, विकास टोल (समूह A) द्वितीय तथा मनकामना टोल (समूह C) तृतीय भएका छन्। साथै कालिका टोल (समूह A), मनकामना टोल (समूह B), बिन्दबासिनी टोल (समूह A) र सृजना टोलले सान्त्वना स्थान हासिल गरेका छन्।

आयोजकका अनुसार प्रथम हुने समूहलाई रु. १०,०००, द्वितीयलाई रु. ७,५००, तृतीयलाई रु. ५,००० तथा सान्त्वना प्राप्त प्रत्येक समूहलाई रु. २,५०० पुरस्कार प्रदान गरिनेछ। पुरस्कारहरू विश्व वातावरण दिवस–२०८३ (जेठ २२ गते) आयोजित विशेष समारोहमा वितरण गरिने कार्यक्रम रहेको छ।

कार्यक्रममा सहभागी टोल विकास संस्था, स्वयंसेवक तथा स्थानीयवासीहरूले वातावरण संरक्षण, फोहोर व्यवस्थापन र सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजकका अनुसार यस अभियानले समुदायस्तरमा वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।