अभिभावक र विद्यार्थीको सोचमा परिवर्तन ल्याउनुपर्नेः अध्यक्ष मुक्तान

Image

हेटौंडा \ बाल विवाह अन्त्यका लागि अभिभावक र विद्यार्थीकै सोच र विचारमा परिवर्तन ल्याउनुपर्ने कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताएका छन् । मंगलबार बाल विवाह विरुद्ध समूदाय परिचालन कार्यक्रम अन्तरगत सरकारी, गैरसरकारी, तथा सरोकारवालाहरुको सहभागितामा भएको सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै बाल विवाह अन्त्यका लागि मुख्यताः अभिभावकलाई नै सचेत गराउनु नै जरुरी रहेको बताए ।

कैलाशमा चेपाङ र तामाङ समूदायको बसोबास रहेकाले उक्त समूदायलाई अझ बढि सचेतना दिनु जरुरी छ, मुक्तानले भने । उक्त समूदायमा बढि मात्रामा बाल विवाहको संख्या बढि रहन्छ । बाल विवाह कानूनी अपराध हो तैपनि यहाँ बाल विवाह गर्नु हुन्न भन्ने चेत अझै आएन ।

गाउँपालिकाले कक्षा १२ पास गरी २० वर्ष पुरा भई विवाह गर्नेलाई गाउँसभाको दिन नगद सहित सम्मान गर्ने गरेको अध्यक्ष मुक्तानले बताए । बाल विवाह न्यूनिकरणमा चेली प्रोत्साहन कार्यक्रमले थप टेवा पुर्याउँदै आइरहेको अवस्था छ । बाल विवाहलाई सामूदायिस्तरबाटै अन्त्य गरिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोनले समूदाय स्तरमा बेथिति बढ्दो रहेकाले बाल विवाह न्यूकरणमा समस्या रहेको बताए । टोल समाजमा बहु विवाह र बाल विवाह हुन्छ, हामी मुगदर्शक भएर बस्नुपर्ने बाध्यता छ, वडाध्यक्ष ब्लोनले भने । कति पटक छुट्याउन खोज्यो, भागेर गइहाल्छ, रोकेर रोक्न सकिन्न । घरबाट संस्कार राम्रो हुनुपर्यो, राम्रो नभएर पनि होला बाल विवाह भइरहेको छ उनले बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीता कुमारी खत्रीले बाल विवाहले बालबालिकाको वर्तमान मात्र नभई, भविष्यलाई पनि नराम्रो असर पुग्ने बताईन् । शिक्षिक, सुरक्षित र समृद्ध समाज बनाउनु छ भने बाल विवाह अन्त्य अपरिहार्य रहन्छ, उनले भनिन्, बाल विवाह अन्त्यका लागि सबै सरोकारवालाको सक्रिय सहभागिता र प्रतिवद्धता आवश्यक रहन्छ ।

विशेष गरी अभिभावक, शिक्षक, जनप्रतिनिधिहरुले साझा प्रतिवद्धता गरी बाल विवाह कानूनी रुपमा दण्डनीय सामाजिक अपराध हो भन्ने भावलाई आत्मसात् गरी बालबालिकाको हित र संरक्षणलाई प्राथमितामा राखेर अघि बढ्न जोड गरिन् ।

कार्यक्रमलाई बाल अधिकारकर्मीहरु संगीता उप्रेती र भवानी अधिकारीले सहजीकरण गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, विद्यालयका प्रधानाध्यापक, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

दुई दिन सञ्चालन हुने कार्यक्रम मंगलबार सरोकारवालासँग अन्तरक्रिया र बुधबार दुईवटा माविस्तरका विद्यालयमा विद्यार्थी र शिक्षकहरुको सहभागितामा कार्यक्रम सञ्चालन हुने महिला तथा बालबालिका शाखाका प्रमुख रमिला सापकोटाले बताईन् ।