हेटौंडा–११ सरस्वतीनगरमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु

Image

हेटौंडा/ “खेलकुद खेलाडीका लागि, खेलाडी राष्ट्रका लागि” भन्ने मूल नारासहित हेटौंडा–११ सरस्वतीनगरमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ।

हेटौंडा–११ को आर्थिक सहयोग र सरस्वती टोल विकास संस्था, सरस्वतीनगरको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो। आयोजकका अनुसार प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा प्रथम हुने टिमले रु. ५० हजार, द्वितीय हुनेले रु. ३० हजार तथा दुई वटा सान्त्वना स्थान प्राप्त गर्ने टिमले जनही रु. १०–१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता २०८३ जेठ २१ गतेदेखि २३ गतेसम्म हेटौंडा–११ स्थित सरस्वतीनगर मितेरीचौरमा सञ्चालन हुनेछ।

हेटौंडा–११ का वडा सदस्य संजय बिडारीका अनुसार प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत युवामा अनुशासन, एकता र प्रतिस्पर्धात्मक भावना विकास गर्नु रहेको छ। उनले प्रतियोगितामा सबैलाई उपस्थित भई खेल अवलोकन गर्न समेत आग्रह गरेका छन्।

उद्घाटन खेलमा हेटौंडा–११ का आयोजक ए र बी टिमबीच प्रतिस्पर्धा भइरहेको छ। बिहान तीन वटा खेल र बेलुकी थप तीन वटा खेल सञ्चालन हुने आयोजक टिम ए का प्रशिक्षक पुष्प मैनालीले जानकारी दिएका छन्।

त्यस्तै, दिउँसो ३ बजे विशेष उद्घाटन कार्यक्रम हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ।