भदौ १७ गते मकवानपुर धार्मिक द्वन्द्वमुक्त जिल्ला घोषणा हुने

Image

हेटौँडा । सर्वधर्म सद्भाव ऐक्यवद्धता महाअभियानले आउँदो भदौ १७ गते मकवानपुरलाई ‘धार्मिक द्वन्द्वमुक्त जिल्ला’ घोषणा गर्ने भएको छ ।
आइतबार हेटौँडामा सबै धर्मका गुरु र अगुवा तथा नागरिक समाजका सदस्यहरुको भेलाले गठित महाअभियानले भदौ १७ गते मकवानपुरलाई धार्मिक द्वन्द्वमुक्त जिल्ला घोषणा तयारी गरेको हो ।

महाअभियानका अध्यक्ष राजेश वाग्लेले सबै धर्म र सम्प्रदायको सहभागितामा ‘मकवानपुरमा कुनै पनि धार्मिक द्वन्द्व छैन र हुने छैन’ भन्ने सन्देश दिन यस्तो तयारी गरिएको बताए । उनले भने, ‘हामी संस्था दर्ता गरेर औपचारिकरुपमै धार्मिक समुदायमा सद्भाव कायम राख्दै यो अभियानलाई मकवानपुरबाट अरु जिल्लामा पनि लैजाने तयारीमा छौँ ।’

कार्यक्रममा हेटौँडा उपमहानगर–४ का वडाध्यक्ष नवीन सिग्देलले महाअभियानले देशैभर सन्देश प्रवाह गर्न सक्नु पर्ने बताए । यस्तै कार्यक्रममा रामानुज गुरु, विश्व हिन्दू महासंघ मकवानपुरका अध्यक्ष उत्तम शर्मा ढकाल, मकवानपुर पादरी संघका अध्यक्ष सुवास गोपाली, लामागुरु शेराब दोर्जे लामा, मुश्लिम धर्मका गुरु मोहम्मद अलि, तयस अन्सारी, ब्रम्हकुमार राजयोग सेवा केन्द्रकी सहप्रमुख रेवती दिदी, आरपी अधिकारी, विशाल राज महत, डा. अर्पण पराजुली, सरस्वती थिङ, रास्वपा मकवानपुरका सचिव विशभ अधिकारी, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तेज उप्रेती, रमेश, नेकपा एमाले हेटौँडाका अध्यक्ष बोलबहादुर कार्की, भीमसेन महतलगायतका विभिन्न वर्ग सम्प्रदायका व्यक्तिहरुले महाअभियानलाई सफलताको कामना गरेका थिए ।

भेलाले राजेश वाग्लेको अध्यक्षमा सर्वधर्म सद्भाव ऐक्यवद्धता महाअभियान गठन गरेको छ । समितिमा उपाध्यक्षहरु तुलसी गिरि, रमिला शर्मा आचार्य, तैयस अन्सारी, सरस्वती कुमारी थिङ रहेका छन् । यस्तै, महासचिमा रामकुमार एलन, सचिवमा बिजय बजगाईं, कोषाध्यक्षमा सीतादेवी भेटवाल र सहकोषाध्यक्षमा शेर मोहम्मद अन्सारी रहेका छन् । समितिका सदस्यहरुमा तुलसी नारायण तिमल्सिना, सफल अधिकारी, बोलबहादुर कार्की, आरती पाठक, शुभलक्ष्मी वाइबा र विवेक अधिकारी रहेका छन् ।