बैतडी । बैतडीको पाटन नगरपालिकामा केही दिनदेखि बेपत्ता रहेका एक वृद्धको शव फेला परेको छ। पाटन नगरपालिका वडा नं. ८ निवासी ६८ वर्षीय जयसिंह महराको शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।
महराको शव पाटन नगरपालिका वडा नं. २ स्थित थडकुडाको तल्लो बाटोमा पर्ने भिर नजिकै फेला परेको हो।
प्रहरीका अनुसार महरा गाउँकै आफन्तसँग भैँसी खरिद गर्नका लागि घरबाट निस्किएका थिए। भैँसी खरिद गरेर आफन्तहरू घर फर्किए पनि महरा भने ‘मामाघर जाने’ भन्दै बीच बाटोबाटै छुट्टिएका थिए। त्यसपछि लगातार तीन दिनसम्म पनि उनी घर नफर्किएपछि परिवार र आफन्तजनले उनको खोजीका लागि पहल थालेका थिए।
शनिबारदेखि महराको खोजीका लागि स्थानीय बासिन्दा, आफन्त र इलाका प्रहरी कार्यालय पाटनको टोलीले संयुक्त रूपमा सक्रियता बढाएको थियो। खोजी कार्यलाई तीव्रता दिँदै शनिबार रातिको समयमा समेत टोली परिचालन गरिएको थियो। निरन्तरको प्रयासपछि अन्ततः आज (आइतबार) उनको शव भिरको खोचमा फेला परेको प्रहरी स्रोतले पुष्टि गरेको छ।
घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान सुरु गरिसकेको छ। महरासँगै भैँसी किन्न गएका आफन्त र शनिबार साँझ ‘शव भेटियो’ भनी सुरुमा सूचना दिने स्थानीय एक मदिरा सेवनकर्तालाई समेत नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ।
इलाका प्रहरी कार्यालय पाटनका अनुसार घटनास्थलको मुचुल्का उठाउने काम सम्पन्न भइसकेको छ भने शवलाई पोस्टमार्टमका लागि पाटन अस्पताल ल्याउने तयारी भइरहेको छ। महराको आकस्मिक निधनले परिवार र स्थानीय गाउँले शोकमग्न भएका छन्।














