बोत्तल देउँ, बिरुवा लिउँ’ अभियान अन्तर्गत १५० भन्दा बढी बिरुवा वितरण

Image

हेटौंडा/ हेटौंडा–७ स्थित श्रीनिवास टोल विकास संस्थाको परिसरमा आयोजित ‘बोत्तल देउँ, बिरुवा लिउँ’ अभियान अन्तर्गत १५० भन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको छ। कार्यक्रम टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको आयोजनामा, हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा वडा समन्वय समिति हेटौंडा–७ र श्रीनिवास टोल विकास संस्थाको समन्वयमा सम्पन्न भएको हो।

समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ७ का अध्यक्ष दामोदर गौतम प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विभिन्न टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।

अभियान अन्तर्गत स्थानीय बासिन्दाबाट संकलित प्लास्टिकका बोतलको सट्टामा लिची, आँप, अम्बा र कागती लगायतका फलफूलका बिरुवा वितरण गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य वातावरण संरक्षण, प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा हरियाली प्रवर्द्धन गर्नु रहेको आयोजकहरूले बताएका छन्।

प्रमुख अतिथि दामोदर गौतमले वातावरण संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता सामुदायिक अभियानले सरसफाइ, हरियाली विस्तार र नागरिक चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

अध्यक्ष ध्रुव प्रसाद अधिकारीले टोल विकास संस्थाहरू भौतिक विकाससँगै सामाजिक रूपान्तरण, वातावरण संरक्षण, महिला सशक्तीकरण तथा जनचेतनामूलक अभियानका प्रभावकारी माध्यम बन्दै गएको धारणा व्यक्त गर्नुभयो। उहाँले नागरिक सहभागितामा आधारित कार्यक्रमहरूले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

आयोजकका अनुसार हालसम्म तीन चरणमा ६ सयभन्दा बढी बिरुवा वितरण भइसकेको छ भने आगामी दिनमा १,१०० बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ। अभियानलाई निरन्तरता दिँदै हेटौंडालाई अझ हराभरा, स्वच्छ र वातावरणमैत्री नगर बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

टोल विकास संस्था नगर समन्वय समितिले विगतदेखि हरियाली प्रवर्द्धन, सरसफाइ, महिला सशक्तीकरण तथा युवा परिचालन लगायतका सामाजिक अभियान सञ्चालन गर्दै आएको छ। आयोजकहरूले यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा विस्तार गरिने बताएका छन्।