हेटौडा/ वातावरण संरक्षण, प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको “बोतलसँग बिरुवा साट्ने अभियान” प्रति जनताको उत्साह दिनप्रतिदिन बढ्दै गएको छ। टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सञ्चालित अभियान अन्तर्गत आज हेटौंडा–११ स्थित नवलपुर क्षेत्रमा कार्यक्रम सम्पन्न भएको हो।
हेटौंडा उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर समन्वय समितिका उपसमहासचिव देव कुमार श्रेष्ठ, सदस्य सुरेश लामिछाने, वडा समन्वय समिति, हेटौंडाका अध्यक्ष यज्ञ बहादुर आचार्य लगायत विभिन्न टोल विकास संस्थाका पदाधिकारी, सामाजिक अगुवा तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रम अन्तर्गत स्थानीयवासीहरूले संकलन गरी ल्याएका प्लास्टिकका बोतलहरूको सट्टामा दुई सयभन्दा बढी फलफूलका बिरुवाहरू वितरण गरिएको थियो। अभियानमा दशवटा प्लास्टिकका बोतल बराबर एकवटा फलफूलको बिरुवा प्रदान गरिएको थियो। कार्यक्रममा एभोकाडो, आँप, लिची, कागती, अम्बा लगायतका विभिन्न प्रजातिका बिरुवाहरू वितरण गरिएका थिए।
आयोजकका अनुसार कार्यक्रममार्फत विभिन्न स्थानमा जथाभावी फालिएका तथा प्रयोगपछि बेवास्ता गरिएका करिब १०० केजी प्लास्टिकका बोतलहरू संकलन भएका छन्। यसले वातावरण संरक्षणका साथै प्लास्टिक फोहोर व्यवस्थापनमा समेत महत्वपूर्ण योगदान पुगेको विश्वास लिइएको छ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष जुनु दाहालले वातावरणीय चुनौतीहरू बढ्दै गएको वर्तमान अवस्थामा समुदायको सक्रिय सहभागितामार्फत सञ्चालन गरिएका यस्ता अभियानहरू अत्यन्त प्रभावकारी सावित भएको बताउनुभयो। उहाँले प्लास्टिक प्रदूषण नियन्त्रण, सरसफाइ प्रवर्द्धन तथा हरियाली विस्तारका लागि स्थानीय सरकार र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो। “एउटा बिरुवाले भविष्यलाई हराभरा बनाउँछ भने एउटा प्लास्टिकको बोतलको उचित व्यवस्थापनले वातावरण जोगाउन मद्दत गर्छ,” उहाँले भन्नुभयो।
त्यसैगरी टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले अभियानप्रति नागरिकहरूको बढ्दो आकर्षण र सहभागिताले आफूहरूलाई थप उत्साहित बनाएको बताउनुभयो। उहाँका अनुसार अभियानको उद्देश्य केवल बिरुवा वितरण गर्नु मात्र नभई नागरिकहरूमा वातावरणीय जिम्मेवारीको भावना विकास गर्नु पनि हो। उहाँले भन्नुभयो, “हामीले प्लास्टिकलाई फोहोरका रूपमा मात्र होइन, वातावरण संरक्षणको अभियानसँग जोड्ने प्रयास गरेका छौं। नागरिकहरूले घरघरबाट बोतल संकलन गरेर ल्याउनु र बिरुवा रोप्ने प्रतिबद्धता व्यक्त गर्नु आफैंमा सकारात्मक परिवर्तनको संकेत हो।”
अध्यक्ष अधिकारीले टोल विकास संस्थाहरूले विगतदेखि नै हरियाली प्रवर्द्धन, सरसफाइ, महिला सशक्तीकरण, युवा परिचालन तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक अभियानहरूलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
स्थानीयवासीहरूको उत्साहजनक सहभागिताका कारण अभियानले अपेक्षाभन्दा राम्रो सफलता हासिल गरिरहेको आयोजकहरूको भनाइ छ। कार्यक्रमले एकातर्फ प्लास्टिकजन्य फोहोरको व्यवस्थापनमा सहयोग पुर्याएको छ भने अर्कोतर्फ घरघरमा फलफूलका बिरुवा रोप्ने संस्कृतिको विकास गर्दै हरियाली विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको छ।
“बोतलसँग बिरुवा साट्ने अभियान” अहिले हेटौंडाका विभिन्न वडाहरूमा वातावरण संरक्षण र नागरिक सहभागिताको उदाहरणीय अभियानका रूपमा स्थापित हुँदै गएको छ। आयोजकहरूले आगामी दिनमा पनि अभियानलाई थप प्रभावकारी बनाउँदै व्यापक रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
















