“बोतल देऊँ, बिरुवा लिऊँ” अभियानले वातावरण संरक्षण र सरसफाइ प्रवर्द्धनमा टेवा

Image

हेटौडा । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–४ तथा न्युरेनी टोल विकास संस्थाको व्यवस्थापन र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सञ्चालित “बोतल देऊँ, बिरुवा लिऊँ” कार्यक्रम आज हेटौंडा–४ मा उत्साहजनक रूपमा सम्पन्न भएको छ।

वातावरण संरक्षण, प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम अन्तर्गत स्थानीयवासीहरूले संकलन गरी ल्याएका प्लास्टिकका बोतलहरूको सट्टामा आँप, लिची, अम्बा, कागती लगायत विभिन्न प्रजातिका फलफूलका बिरुवाहरू वितरण गरिएको थियो। अभियानअनुसार १० वटा प्लास्टिकका बोतल बराबर १ वटा फलफूलको बिरुवा प्रदान गरिएको थियो।

कार्यक्रमले समुदायमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनप्रति सचेतना अभिवृद्धि गर्नुका साथै वृक्षारोपण र हरियाली विस्तार अभियानलाई थप प्रभावकारी बनाएको छ। जथाभावी फालिने प्लास्टिकका बोतलहरू संकलन गरी उचित व्यवस्थापनको प्रक्रियामा ल्याउन सफल भएको यस अभियानले वातावरणीय संरक्षण र सरसफाइ प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूको भनाइ छ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले वातावरण संरक्षणका लागि सरकारी निकाय, सामाजिक संघसंस्था र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले पछिल्लो समय प्लास्टिकजन्य फोहोर वातावरणका लागि गम्भीर चुनौतीका रूपमा देखा परिरहेको उल्लेख गर्दै यस्ता व्यवहारिक अभियानहरूले नागरिकलाई प्रत्यक्ष रूपमा वातावरण संरक्षणसँग जोड्ने काम गरेको धारणा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “हामीले बोतललाई फोहोरको रूपमा होइन, वातावरण जोगाउने अभियानको माध्यमका रूपमा उपयोग गर्ने प्रयास गरेका छौं। एकातर्फ प्लास्टिकजन्य फोहोर संकलन भइरहेको छ भने अर्कोतर्फ फलफूलका बिरुवाहरू रोपेर हरियाली विस्तार भइरहेको छ। यस अभियानबाट वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन र नागरिक चेतना अभिवृद्धि एकसाथ भइरहेको छ। हेटौंडालाई स्वच्छ, हराभरा र वातावरणमैत्री नगर बनाउने हाम्रो अभियान आगामी दिनमा अझ व्यापक रूपमा सञ्चालन हुनेछ।”

अध्यक्ष अधिकारीले हालसम्म विभिन्न चरणमा सयौं बिरुवाहरू वितरण भइसकेको जानकारी दिँदै अभियानलाई नगरका सबै वडामा विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले टोल विकास संस्थाहरूले केवल भौतिक पूर्वाधार विकासमा मात्र नभई वातावरण संरक्षण, सामाजिक जागरण, महिला सशक्तीकरण, युवा परिचालन तथा समुदाय विकासका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो।

आयोजकका अनुसार “बोतल देऊँ, बिरुवा लिऊँ” अभियानले प्लास्टिक फोहोर व्यवस्थापनलाई व्यवहारिक रूपमा समुदायसँग जोड्नुका साथै प्रत्येक घरमा फलफूलका बिरुवा रोप्ने संस्कृतिको विकास गर्न मद्दत पुर्‍याइरहेको छ। यस अभियानलाई आगामी दिनहरूमा हेटौंडाका अन्य वडाहरूमा समेत विस्तार गरिने जनाइएको छ।

टोल विकास संस्था नगर समन्वय समितिले विगतदेखि नै हरियाली प्रवर्द्धन, सरसफाइ अभियान, वातावरण संरक्षण, महिला सशक्तीकरण तथा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमहरूले नागरिक सहभागिता बढाउँदै वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको समितिको विश्वास छ।

“फोहोर होइन, स्रोतको रूपमा प्लास्टिकको व्यवस्थापन गरौं; बिरुवा रोपेर हराभरा भविष्य निर्माण गरौं” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले वातावरण संरक्षण र समुदायको साझा जिम्मेवारीलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।