हेटौडा/ भीमफेदी, मकवानपुर बागमती प्रदेश सरकार अन्तर्गत प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (CTEVT) हेटौंडा र भीमफेदी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको ६५ दिने बारिस्टा सीप विकास तालिम सम्पन्न भएको छ। २०८२ फागुन २५ गतेदेखि सुरु भएको ३९० घण्टे तालिम २०८३ असार ३ गते समापन गरिएको हो।
समापन कार्यक्रममा बोल्दै प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्की कार्यकारी निर्देशक शान्ती लामाले लक्षित वर्गका सहभागीहरूको सक्रिय उपस्थितिले तालिमको उद्देश्य सफल भएको बताइन्। उनले सीपमूलक तालिमले स्वरोजगार सिर्जना गर्नुका साथै वैदेशिक रोजगारीका अवसरसमेत विस्तार गर्ने उल्लेख गरिन्।
उनले भनिन्, “यस तालिमबाट प्राप्त प्रमाणपत्रले स्वदेश तथा विदेश दुवै ठाउँमा रोजगारीका अवसर प्राप्त गर्न सहयोग पुर्याउँछ। सहभागीहरूले सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सक्नेछन्।”
तालिममा सहभागी सानुमाया मोक्तानले तालिमले आफ्नो जीवनमा नयाँ अवसर थपेको बताइन्। उनले भनिन्, “बारिस्टा भनेको के हो भन्ने समेत थाहा थिएन। अहिले यस सम्बन्धी काम गर्न सक्ने भएको छु। निजी संस्थामा यस्तो तालिम लिन धेरै रकम खर्च गर्नुपर्थ्यो, तर गाउँपालिकाले लगानी गरेर हामीलाई सीप र स्वरोजगारको आधार दिएको छ।”
तालिमका प्रशिक्षक रुपेश खड्काले अन्य स्थानको तुलनामा भीमफेदीका सहभागीहरूको उत्साह, अनुशासन र सहभागिता उत्कृष्ट रहेको बताए। उनले सिकेको सीपलाई व्यवहारमा लागू गर्न सके रोजगार तथा व्यवसायका पर्याप्त अवसर रहेको उल्लेख गरे।
कार्यक्रमका सभाध्यक्ष तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले तीनै तहका सरकार युवाहरूलाई सीप विकासमार्फत आत्मनिर्भर बनाउने अभियानमा रहेको बताए। उनले केवल शैक्षिक डिग्री हासिल गरेर मात्र नपुग्ने र व्यवहारिक सीपको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै प्रदेश सरकारसँगको साझेदारीमा बारिस्टा तालिम सञ्चालन गरिएको जानकारी दिए।
अध्यक्ष लामाले सहभागीहरूलाई सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न आग्रह गर्दै स्थानीय स्रोत, साधन र पूँजीको सदुपयोग गर्न सुझाव दिए। उनले व्यवसाय सञ्चालनका लागि सहुलियत ब्याजदरमा ऋणसमेत उपलब्ध हुने जानकारी गराउँदै बजारको अवस्था र सम्भावनाको अध्ययन गरेर अघि बढ्न आग्रह गरे।
उनले भने, “६५ दिने तालिममार्फत सहभागीहरूले लेभल–१ पूरा गर्नुभएको छ। आगामी दिनमा थप उच्चस्तरीय तालिमका लागि पनि पहल गरिनेछ। सिकेको सीपले स्वदेशमा मात्र होइन, वैदेशिक रोजगारीमा समेत राम्रो अवसर दिलाउन सक्छ।”
कार्यक्रममा सहभागीहरूले तालिम अत्यन्त प्रभावकारी र उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले यस्ता सीपमूलक कार्यक्रमले बेरोजगार युवाहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
समापन कार्यक्रमको सञ्चालन भीमफेदी गाउँपालिकाकी अमृता गौतमले गरेकी थिइन्। कार्यक्रममा तालिम सफलतापूर्वक पूरा गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
सीप, रोजगार र आत्मनिर्भरतासँग जोडिएको यो बारिस्टा सीप विकास तालिम भीमफेदीका युवाहरूका लागि अवसरको नयाँ ढोका खोल्ने कार्यक्रमका रूपमा हेरिएको छ।

















