हेटौँडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत भलिबलतर्फ पुरुषमा मकवानपुर र महिलामा धादिङ च्याम्पियन बनेका छन्। काठमाडौँस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनलमा मकवानपुरले चितवनलाई ३–२ सेटमा हराउँदै पुरुषतर्फ उपाधि जितेको हो।
फाइनलमा मकवानपुरले प्रतिस्पर्धात्मक खेलमा चितवनलाई पराजित गरेको थियो। उपाधिसँगै मकवानपुरका खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। उपविजेता चितवनका खेलाडीले जनही ४ हजार रुपैयाँ पाए। तेस्रो स्थान हासिल गरेका भक्तपुर र धादिङका खेलाडीले जनही ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे।
पुरुष भलिबलमा मकवानपुरका निरोज मगर उत्कृष्ट लिबेरो, पुकार गुरुङ उत्कृष्ट लिफ्टर र कमलप्रसाद बिष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए। चितवनका रियोन कार्की उत्कृष्ट स्पाइकर र नवीन महतो उत्कृष्ट सर्भर तथा धादिङका प्रदीप गोल उत्कृष्ट मिडल ब्लकर चुनिए।
महिलातर्फ धादिङले दोलखालाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जित्यो। महिलातर्फ रामेछाप तेस्रो भयो। धादिङकी रमिला गुरुङ उत्कृष्ट स्पाइकर, भावना तामाङ उत्कृष्ट सेटर, जानुका गुरुङ उत्कृष्ट लिबेरो र विमला लामा उत्कृष्ट प्रशिक्षक घोषित भए। रामेछापकी सपना श्रेष्ठ उत्कृष्ट मिडल ब्लकर बनिन्।
यसैगरी टेबलटेनिस र बुद्धिचालमा ललितपुरले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ। टेबलटेनिसमा भक्तपुर दोस्रो र काठमाडौँ तेस्रो भए। बुद्धिचालमा ललितपुरले ७ स्वर्ण जित्दै शीर्ष स्थान कब्जा गर्यो। चितवन दोस्रो र काठमाडौँ तेस्रो स्थानमा रहे। प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिएको आयोजकले जनाएको छ।

















