हेटौँडा/ थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्टको २७औँ स्मृति दिवसको अवसरमा हेटौँडामा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँका विचार र दर्शनलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिइएको छ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले रुपचन्द्र बिष्टका विचार आजको समाज र राजनीतिक परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो। उहाँले नेपालको राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणमा बिष्टले पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै थाहा दर्शनलाई पुस्तान्तरण गर्नु समयको आवश्यकता भएको धारणा राख्नुभयो।
वक्ताहरूले रुपचन्द्र बिष्टलाई जनमुखी नेता, दार्शनिक तथा सामाजिक अभियन्ताका रूपमा स्मरण गर्दै उहाँका विचार र व्यवहारबीचको एकरूपताले नै उहाँका सिद्धान्तलाई आजसम्म जीवित राखेको बताए। उनीहरूले विगतमा सकारात्मक विचार र मूल्यहरू प्रभावकारी रूपमा पुस्तान्तरण हुन नसक्दा समाजले विभिन्न चुनौती भोग्नुपरेको उल्लेख गर्दै बिष्टका विचार, आदर्श र सत्कर्मलाई युवा पुस्तामा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए।
बागी भुगोल साप्ताहिकद्वारा आयोजित कार्यक्रममा रुपचन्द्र विष्ट स्मारक विकास समितिका अध्यक्ष रानारायण बिडारीको अध्यक्षता रहेको थियो। कार्यक्रममा समितिका सचिव रामहरि सुवेदी, रुपचन्द्र बिष्टका अनुयायी छविलाल वाइवा, प्रकाश पौडेल, श्रीषिराम पोखरेल, कवि युग पाठक तथा पत्रकार प्रताप विष्टलगायतले आफ्नो धारणा राखेका थिए। सो अवसरमा संस्थाका कार्यसमिति सदस्यहरूलाई सम्मानपत्र तथा दोसल्ला प्रदान गरी सम्मान गरिएको थियो।
वि.सं. १९९० पुस २६ गते मकवानपुरको हालको थाहा नगरपालिका–३ घर्तीखोलामा जन्मनुभएका रुपचन्द्र बिष्ट थाहा दर्शनका व्याख्याकारका रूपमा परिचित हुनुहुन्छ। उहाँ २०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा जनमुखी उम्मेदवारका रूपमा निर्वाचित हुनुभएको थियो। वि.सं. २०५६ असार ७ गते उहाँको निधन भएको थियो।
उहाँकै सम्मानमा मकवानपुरको उत्तरी क्षेत्रको नगरपालिकाको नाम थाहा नगरपालिका राखिएको हो। नगरको विकासघर अगाडि उहाँको पूर्णकदको शालिक स्थापना गरिएको छ। स्थानीय कृषि उपजमा कर संकलनको अवधारणा अघि सार्दै विकासघर निर्माण गर्ने श्रेय पनि बिष्टलाई नै दिइन्छ, जसको प्रभाव आज पनि थाहा नगरपालिकाको राजस्व संरचनामा देख्न सकिन्छ।

















