शिक्षा, स्वास्थ्य र सामाजिक रूपान्तरणमा केन्द्रित कैलाशको ५५ करोडभन्दा बढी बजेट

Image

हेटौंडा/ मकवानपुरस्थित कैलाश गाउँपालिका ले आर्थिक वर्ष २०८३/८४ का लागि ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखेको छ।

बुधबार सम्पन्न १८औँ गाउँसभामा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नागरिकको जीवनस्तर सुधार, सेवा प्रवाह सुदृढीकरण तथा दिगो विकासलाई केन्द्रमा राखिएको बताए। गाउँसभाले नीति तथा कार्यक्रम, बजेट तथा सम्बन्धित विधेयकहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

गाउँपालिकाले आगामी वर्ष स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारलाई विशेष प्राथमिकता दिएको छ। वीपी स्मृति कैलाश आधारभूत अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण तथा औषधिको व्यवस्था गरी आकस्मिक स्वास्थ्य सेवा थप प्रभावकारी बनाइने नीति लिइएको छ। साथै ‘कैलाश बन्दैछ, बा–आमालाई सञ्चै छ’ अभियान र जिरो होम डेलिभरी कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।

शिक्षा र सामाजिक विकासतर्फ महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा युवालाई लक्षित कार्यक्रमहरू सञ्चालन गरिनेछन्। बालविवाह न्यूनीकरण, किशोरी शिक्षा प्रवर्द्धन तथा सामाजिक सचेतना अभिवृद्धिका लागि सञ्चालन हुँदै आएको ‘चेली प्रोत्साहन कार्यक्रम’लाई पनि निरन्तरता दिइने भएको छ।

कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यवसायिक बनाउने उद्देश्यसहित रैथाने बाली संरक्षण, बाँझो जमिनको उपयोग, कृषिको आधुनिकीकरण तथा व्यवसायीकरणका कार्यक्रम अघि बढाइने भएका छन्। यसैगरी ‘एक घर–एक धारा’ कार्यक्रम र पूर्ण सरसफाइ उन्मुख पालिका निर्माण अभियानलाई पनि प्राथमिकतामा राखिएको छ।

उपाध्यक्ष बालकुमार मल्लले प्रस्तुत गरेको बजेटअनुसार संघीय सरकारबाट विभिन्न अनुदान तथा राजस्व बाँडफाँटमार्फत ४२ करोड ७६ लाख ९१ हजार रुपैयाँ, प्रदेश सरकारबाट ९ करोड ४७ लाख २१ हजार ९१० रुपैयाँ तथा आन्तरिक स्रोतबाट ३ करोड ६० लाख ५६ हजार ९० रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

बजेट विनियोजनतर्फ सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढी २४ करोड ८९ लाख १५ हजार रुपैयाँ छुट्याइएको छ। पूर्वाधार विकासका लागि १५ करोड ७० लाख रुपैयाँ, प्रशासनिक खर्चका लागि ११ करोड ८६ लाख रुपैयाँ, आर्थिक विकासका लागि २ करोड २१ लाख रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७५ लाख ५४ हजार रुपैयाँ तथा वातावरण तथा विपद् व्यवस्थापनमा ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाले सुशासन, पारदर्शिता र वित्तीय अनुशासनलाई थप मजबुत बनाउँदै बक्यौता, पेश्की तथा बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राख्ने र शून्य बेरुजुतर्फ उन्मुख हुने प्रतिबद्धता पनि जनाएको छ।

गाउँसभाको अवसरमा कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेरपछि विवाह गर्ने १० जना चेलीलाई नगदसहित सम्मान गरिएको थियो। गाउँपालिकाका अनुसार उक्त कार्यक्रमले बालविवाह नियन्त्रण, किशोरीहरूको शिक्षा निरन्तरता र सामाजिक रूपान्तरणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।