विपद् व्यवस्थापनमा पूर्वतयारीको सन्देश दिँदै संयुक्त अभ्यास सम्पन्न

Image

हेटौँडा/ विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले हेटौँडामा संयुक्त कृत्रिम अभ्यास (मोक ड्रिल) सम्पन्न गरेको छ।

हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रको हेटेक्स चौरमा आयोजित अभ्यासमा भूकम्प र आगलागीका कारण उत्पन्न हुन सक्ने विपद् परिस्थितिलाई आधार बनाएर खोज तथा उद्धार, प्राथमिक उपचार, घाइते व्यवस्थापन र आगलागी नियन्त्रणका गतिविधि प्रदर्शन गरिएको थियो।

अभ्यासका क्रममा भूकम्पका कारण भवन भत्किएको, मानिसहरू भग्नावशेषमा पुरिएको तथा उद्योग र घरमा आगलागी भएको काल्पनिक अवस्था सिर्जना गरिएको थियो। त्यसलगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, हेटौँडा उपमहानगरपालिका र हेटौँडा अस्पताललगायतका निकायका टोलीले समन्वयात्मक रूपमा उद्धार तथा प्रतिकार्य अभ्यास गरेका थिए।

घटनास्थलबाट घाइतेको खोजी, प्राथमिक उपचार, सुरक्षित स्थानान्तरण तथा आगो नियन्त्रणका विधिहरूको प्रदर्शन गरिएको थियो। अभ्यासमार्फत विपद्का बेला विभिन्न निकायबीच आवश्यक समन्वय, स्रोत–साधनको परिचालन तथा तत्काल प्रतिकार्य क्षमताको परीक्षणसमेत गरिएको मन्त्रालयले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज अधिकारी ले विपद् व्यवस्थापन कुनै एक निकायको मात्र जिम्मेवारी नभई सबै सरोकारवालाको साझा दायित्व भएको बताउनुभयो। उहाँले विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी, जनचेतना र संस्थागत समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

सामाजिक विकासमन्त्री कञ्चनचन्द्र वादे ले विपद्को समयमा शीघ्र उद्धार, राहत र पुनःस्थापना कार्य सञ्चालन गर्न सक्नु नै सरकारको सफलताको महत्वपूर्ण सूचक भएको उल्लेख गर्नुभयो। यस्ता अभ्यासले सम्बन्धित निकायको तयारी तथा कार्यक्षमता अभिवृद्धि गर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी लगायत विभिन्न सरकारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।