जलवायु प्रकोप न्यूनीकरणका लागि प्रकृतिमा आधारित एकीकृत जलाधार व्यवस्थापनमा जोड

Image

हेटौंडा/ वन, पानी, माटो र जैविक विविधता मानव जीवन तथा समृद्धिका आधारभूत प्राकृतिक सम्पदा भएको उल्लेख गर्दै भू तथा जलाधार व्यवस्थापन कार्यालय, मकवानपुरले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि प्रकृतिमा आधारित एकीकृत जलाधार व्यवस्थापनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

कार्यालयका अनुसार अनियन्त्रित वन विनाश, भू-क्षय, नदी कटान, जलस्रोतको प्रदूषण, अव्यवस्थित विकास निर्माण तथा जलवायु परिवर्तनका कारण प्राकृतिक स्रोतहरूमाथि दिनप्रतिदिन दबाब बढ्दै गएको छ। यसले बाढी, पहिरो, सुख्खा तथा अन्य प्राकृतिक विपद्का जोखिमहरू थप बढाएको छ।

प्राकृतिक स्रोतहरूको संरक्षण र दिगो उपयोगका लागि समुदाय, स्थानीय तह तथा नागरिकहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको कार्यालयले जनाएको छ। पहिरो तथा भू-क्षयको उच्च जोखिम भएका क्षेत्रमा वृक्षारोपण तथा वन संरक्षणका कार्यक्रम सञ्चालन गर्न, मुहान, पोखरी, खोला तथा नदीलाई स्वच्छ राख्न र पानीका स्रोतहरूको संरक्षण तथा सदुपयोग गर्न विशेष जोड दिइएको छ।

त्यसैगरी भूमिगत जल पुनर्भरणका उपायहरू अवलम्बन गर्न, वातावरणमैत्री खेती प्रणाली तथा वैज्ञानिक भूमि व्यवस्थापनका अभ्यासहरू विस्तार गर्न र बाढी, पहिरो वा नदी कटानको जोखिम देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ।

कार्यालयले प्रकृतिको संरक्षणमा आज देखाइने जिम्मेवारीले भविष्यका पुस्ताका लागि स्वच्छ वातावरण, सुरक्षित बस्ती र समृद्ध जीवन सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ। साथै माटो, पानी र वनको संरक्षणमार्फत दिगो विकास र वातावरणीय सन्तुलन कायम गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको उल्लेख गरेको छ।

“माटो, पानी र वनको संरक्षण गरौं, समुन्नत भविष्यको आधार तयार गरौं” भन्ने सन्देशसहित कार्यालयले जलवायु प्रकोपको समग्र समाधानका लागि प्रकृतिमा आधारित एकीकृत जलाधार व्यवस्थापन अभियानमा सबैको सक्रिय सहभागिताको आह्वान गरेको छ।